जाजरकोट । कोरोना भाइरसको महामारीबाट बच्नका लागि जिल्लाको सदरमुकाम खलंगामा ३०० बेड क्षमताको क्वारेन्टाइन बनाउने तयारी भैरहेको छ । विभिन्न जिल्लाबाट र विदेशबाट आएकाहरुलाई सुरक्षित साथ राख्नका लागि जिल्लाका सातवटै गाउँपालिकाले ३०० बेड क्षमताको क्वारेन्टाइन बनाउन लागेका हुन ।

जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्यलगायत सरोकारवाला निकायको बैठकले तत्काल सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा क्‍वारेन्टाइन बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जानकारी दिएका छन ।

बैठकले कोरोना जोखिम हुन नदिन भारत र अन्य जिल्लाबाट आएका तथा ल्याउनुपर्ने नागरिकको स्वाब परीक्षण गरेर मात्र घर पठाउने निर्णय गरेको छ । क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्‍नेतको संयोजकत्वमा प्रत्येक पालिकाले आ–आफ्ना पालिकाका प्रभावित नागरिकको जिम्मेवारी लिनेगरी एक÷एकजना स्वास्थ्यकर्मी र एक÷एकजना सम्पर्क व्यक्ति परिचालन गर्ने निर्णय गरिएको उनले बताए ।

क्षमताभन्दा बढी भएमा सम्बन्धित पालिकाको केन्द्रमा यथासम्भव क्‍वारेन्टाइन निर्माण गरी राख्‍ने निर्णय पनि बैठकले गरेको छ । स्वास्थ्य परीक्षणमा अपुग भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा (पीपीई सेट) सामग्रीलगायत अन्य स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयको परामर्शमा सम्बन्धित पालिकाले खरिद तथा व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

सरोकारवालाहरुको उक्त बैठकले गरेको निर्णयसँगै नेपाली सेना र सशस्त्र प्रहरी क्वारेन्टाइन निर्माणमा खटिएका छन । क्वारेन्टाइनको अभावका कारण विभिन्न जिल्ला तथा देश बाहिरबाट आएका मानिसहरुलाई सुरक्षित साथ राख्ने वातावरण तय भएको थिएन ।