रविले भारतीय मिडियालाई दिए यस्तो होमवर्क

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा बारे भारतीय मिडियालाई केही होमवर्क दिएका छन । पछिल्लो समय नेपाली भुभागबारे भारतीय मिडियाले गरेका नकारात्मक टिप्पणीबारे रविले आक्रोश पोख्दै उक्त होमवर्क दिएका हुन । उनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ को ५३७ औँ एपिसोडमा भारतीय मिडियाहरुलाई यस्तो कार्य प्रस्तुत गरेका हुन । उनले भारतीय मिडियालाई कुनै तथ्य र प्रमाणबिना बोलेकोमा आपत्ति जनाएका छन ।
उनले भारतीय मिडियालाई दिएका केही होमवर्कहरु,
१. १८१६ मा नेपाल र व्रिटिस–इण्डियाबीच भएको सुगौली सन्धीको राम्रोसँग अध्ययन, अनुसन्धान र सन् १८१६ डिसेम्बरमा भएको सुगौली सन्धीको पूरक सन्धी राम्रोसँग अध्ययन गर्न आग्रह,
२. भारतले सन् १८५७ मा जारी गरेको नेपालको नक्सा अध्ययन गर्न आग्रह,
३. १८१६ को नोभेम्बरमा नेपालले नेपालका नयाँ मुलुक बाँके, बदिया, कैलाली, कञ्चनपुर फिर्ता ल्याएको सम्झौताको राम्रोसँग अध्ययन, अनुसन्धान गर्न आग्रह,
४. १८७५ जनवरीमा दाङ, ढुरुवाको सीमाना क्षेत्रको नक्साको अध्ययन गर्न आग्रह,
५. १९३८ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका जनताले नेपालमा तिरो तिरेको ८१ वर्ष पुरानो अभिलेखको प्रमाण खोज्न आग्रह,
६. १९५९ मा नेपालमा भएको राष्ट्रिय चुनावमा मतदाताको लिस्ट अध्ययन गर्न आग्रह,
७. राष्ट्रिय जनगणना १९६१ को अध्ययन, अनुसन्धान गर्न आग्रह ।
यति होमवर्क पूरा गरेर अध्ययन, अनुसन्धान गर्नुभयो भने अर्कोपटक तपाइँहरु यस्ता झुट कुरामा प्रवेश गर्नुहुने छैन । सुगौली सन्धीको पाँचौ बुँदामा नेपालका राजाहरुले काली नदीको पश्चिमका भूभाग दाबी नगर्ने उल्लेख गरिएको छ । अर्थात काली नदी (महाकाली) नै पश्चिमको सीमा मानिएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा काली नदीबाट पूर्वी भागमा पर्ने भएकाले सो क्षेत्र नेपालकै भएको प्रमाण उनले पेश गरेका छन । जसलाई नेपाल र भारत दुबैले स्विकार गरेको इतिहास छ ।
यसका साथै उनले सीमा विवादबारे पहिलो दुइ देशीय बहस पनि प्रस्तुत गरेका छन । जसमा नेपालको तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा नेपाल–भारत प्रभुद्ध समूहका सदस्य डा राजन भट्टराई, लेखक तथा विश्लेषक टिका प्रसाद ढकाल र परराष्ट्र विद एवम् पूर्व राजदूत प्रधुम्न विक्रम शाह अनि भारतको तर्फबाट प्रोफेसर एस डि मुनी, भारतीय सेनाका पूर्व जर्नेल तथा नेपाल भारत जानकार अशोक मेहता रहेका थिए । उक्त बहसमा नेपालका तर्फबाट सहभागी भएका जानकारहरुले प्रमाणसहितको तथ्य प्रस्तुत गरेका थिए भने भारतका एस डि मुनी कार्यक्रमबाटै बाहिरिएका थिए ।
स्रोत : News24Nepal
प्रतिक्रिया दिनुहोस्