काठमाडौँ। नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपालीहरुले कसैमाथि असमान र अपमानजक व्यवहार नगर्ने र कसैले नेपालीहरुमाथि त्यस्तो गर्न खोजे कदापि नसहने टिप्पणी गरेका छन् ।

भारतीय पक्षबाट नेपालको नक्साबारे टिप्पणी भएकै बेला उनले ट्वीटर मार्फत नेपालीहरु कसैमाथि पनि अपमान भएको र होच्याएको सहन नसक्ने अभिव्यक्ति दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् : ‘हामी कसैमाथि असमानरअपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं ! नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउनरअपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् । नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं !’

मन्त्री पोखरेलले भारतबारे ट्वीटमा केही लेखेका भने छैनन् । तर उनको टिप्पणी भारत सरकारलाई नै लक्षित देखिन्छ । नेपालको पश्चिमी सिमानामा भारतसँग विवाद चलिरहँदा मन्त्री पोखरेल केही महिनाअघि लिपुलेक अवलोकनका लागि त्यहाँ पनि पुगेका थिए । लामो विवादपछि नेपाल सरकारले बुधबार नयाँ नक्सा जारी गरेको छ । तर भारत सरकारले लगत्तै उक्त नक्सा अस्वीकार्य भन्दै कडा टिप्पणी गरेको छ ।

नेपालको भारतसँग जोडिएको पश्चिम सीमामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर पछिल्लो समय नेपाल र भारतीय सरकारबीच नै मतभेद भइरहँदा उपप्रधानमन्त्री पोखरेलबाट यस्तो टिप्पणी आएको हो । यसबारेमा भारतीय उच्च अधिकारीहरुले नै नेपाललाई चीनको ईशारामा चलेको आरोप लगाएका छन् । जब कि, चीन सरकारले यस मामिला नेपाल र भारतको दुई पक्षीय सरोकार भएको र दुई देशबीच संवादबाट समाधान गर्न सुझाव पनि दिइसकेको छ ।