नरैनापुर । नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि शिल गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका लागि गाउँपालिकालाई नै पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ६८ पुगेको छ । नरैनापुरमा शुरुमा फेला परेका आठ जनासँगको सम्पर्कमा आएका २६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, सोमवार सङ्कलित ९३ सहित अझै ११० जनाको स्वाब परीक्षणका क्रममा छ । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ९३ जनामा पुष्टि भएको छ ।