काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले सांसद अपहरण गरेको आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार भएको बताएका छन । सोमबार प्रतिनिधि सभामा सरकारको नीति, तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो कुरा बताएका हुन ।

साथै उनले आफूलाई सांसद अपहरणको आरोप लगाउने जनता समाजवादी पार्टीका नेता डा सुरेन्द्र यादवलाई कडा प्रहार गरेका छन ।

उनले यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार भएको र आरोप गलत सावित भए आफूलाई सांसद अपहरणको आरोप लगाउने डाक्टरहरु पनि मर्न तयार भएका छन कि छैनन उनले प्रश्न गरेका छन । उनले भनेका छन–‘म सम्पूर्ण माननीय ज्यूहरुलाई साक्षी राखेर भन्न चाहन्छु यदि अपहरण भएको आरोप प्रमाणित भयो भने सबै माननीय ज्यूहरुको अगाडि म झुण्डिएर मर्न तयार छु, के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन ?’ साथै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गरेका छन ।

गत बैशाख १० गते सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले आफूलाई अपहरण शैलीमा रातारात काठमाडौं ल्याएर एक होटलमा राखिएको उनले आरोप लगाउदै आएका छन ।