काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा जेठ ५ देखि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा बहस चलिरहेको थियो ।

तर कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएपछि सरकार लकडाउनलाई जेठ मसान्तसम्म नै यथावत राख्ने तयारीमा जुटेको छ । सरकारले पाँचौ पटक थपेको लकडाउनको समयावधि सोमबार सकिँदै छ ।

“लकडाउनको अहिलेकै मोडललाई यथावत राख्ने कि, आर्थिक क्रियाकलाप गर्न दिइने भनेर बहस भइरहेको थियो । तर, कोरोना सङ्क्रमणका केस बढ्न थालेपछि लकडाउन यथावत राख्नुको विकल्प छैन,” उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले बताए । यद्यपि यस विषयमा साँझ ५ बजे बस्ने बैठकले निर्णय गर्नेछ ।

“आज दिउँसो साढे दुई बजे समन्वय समितिको बैठक बस्दै छ । त्यहाँ लकडाउनका विषयमा छलफल हुनेछ । प्राप्त सुझावहरूका आधारमा मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ,” मन्त्रीको भनाइ छ । शुक्रबार उच्चस्तरीय समितिले जनस्वास्थ्य विज्ञहरूसँग पनि परामर्श गरेको थियो । विज्ञहरुले कोरोना परीक्षणको दायरालाई बढाउनुपर्ने र लकडाउनलाई यथावत राख्न सुझाव दिएका थिए । साथै उनीहरुले सीमामा अझै कडाइ गर्नुपर्ने र स्वास्थ्यकर्मीहरुलाई सिफ्टमा काममा लगाउन सरकारलायई अनुरोध गरेका थिए ।

“पछिल्लो अवस्थालाई विश्लेषण गर्दा लकडाउनलाई थप कडाइ गर्नुपर्ने देखिएको छ,” मन्त्रीको निष्कर्ष छ ।