गत माघ १० गते काठमाण्डौंमा कोरोना भाइरसको पहिलो सङ्क्रमित प्रमाणित भएको नेपालमा अहिले १९१ जनामा कोरोना पुष्टि भइसकेको छ । हिजोसम्म सबैभन्दा धेरै प्रदेश ५ को बाँके, रुपन्देही र कपिलवस्तुमा देखिएको कोरोना, मङ्गलवार थपिएको ५७ जनाका कारण प्रदेश २ अग्रस्थानमा रहेको छ । प्रदेश २ को बारा, पर्सा, सप्तरी, सर्लाही, उदयपुरमा कोरोना सङ्क्रमितहरू बढ्दै गइरहेको अवस्था छ । गत डिसेम्बरबाट चीनको वुहानमा सुरु भएको कोरोनाका कारण अहिले संसारभर त्राही त्राही मच्चिरहेको छ । अमेरिकामा मात्रै आजको दिनसम्म करिब ८२ हजार व्यक्तिहरूले ज्यान गुमाइसकेका छन् भने छिमेकी राष्ट्र भारतमा ७० हजार भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भइसकेका छन् ।

विश्वको तथ्याङ्कलाई हेर्दा नेपालमा कोरोनाको सङ्क्रमण उकालो लाग्ने अवस्थामा छ । नेपालमा सङ्क्रमण बढ्न नदिनको लागि नेपाल सरकारले देशलाई लकडाउन गरेको पनि आज ५० औँ दिन भइसकेको छ । ५० औँ दिनसम्म आइपुग्दा कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो एक हप्तामा ह्वात्तै बढेको देखिन्छ र, यी सङ्क्रमितहरू हिमाली वा पहाडी जिल्ला भन्दा पनि तराई जिल्लाहरूमा बढेको पाइन्छ ।

नेपाल, भारत र चीनको बिचमा रहेको सार्वभौमसत्ता राष्ट्र हो । दुई देशको बिचमा भएता पनि आफ्नै पहिचान र स्वाभिमानमा विश्वभरि चिनिएको नेपालले कोरोना नियन्त्रणको निम्ति अन्य देशहरू जस्तै लकडाउनको अवधारणालाई अगाडी बढाएको छ । यद्यपि लकडाउनकै समयमा पनि सीमाबाट नेपाल भित्रिने क्रम भने रोकिएको छैन । अहिले पनि हजारौँ मानिसहरू सिमानामा अलपत्र परेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले लामो समय देखी भारतीय सिमानामा अलपत्र र असुरक्षित अवस्थामा रहेका हजारौँ नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकारलाई निर्देशन पनि दिएको छ । सुदूरपश्चिममा नेपालीहरू महाकालीमा ज्यानको बाजी लगाएर नेपाल प्रवेश गरेको सत्य पनि हामीबाट लुक्न सकेको छैन । साथसाथै, नेपालगन्ज जमुनाहा नाका, भैरहवा सुनौली नाका, वीरंगंज रक्सौल नाका, विराटनगर जोगवनी नाका र काँकडभिट्टा सीमाबाट नेपाली जनताहरू लुकिछिपी नेपाल प्रवेश गरिरहेका कुरा हामी दिनहुँ जस्तो समाचारमा पढ्ने गरेका छौँ ।

यो स्वाभाविक पनि हो । रोजगारीको निम्ति भारत पलायन भएका नेपालीहरू यो विषम् परिस्थितिमा आफ्नो गाउँ, आफ्नो देश फर्किने चाहना राख्नु कुनै अपराध होइन । दसैँ तिहार र खेतीपातीको समयमा आफ्नै गाउँघरमा रमाउने नेपालीहरू कोरोनाका महामारीमा “बाँचे परिवारसँगै मरे परिवारसँगै” भनेर लाम लाग्दै नेपाल प्रवेश गर्न खोज्नु परिवार र देश प्रतिको आत्मीयता पनि हो । तर यसो भन्दैमा हामी कोरोनाको त्रासलाई नजरअन्दाज पनि गर्न सक्दैनौँ । कोरोनाको त्रास विश्व भरि नै छ । बाँच्ने रहर सबैलाई छ । बाँच्ने रहर भएर नै देशको अर्थतन्त्रलाई एकातिर थाती राख्दै विश्व नै लकडाउनमा बसेको छ । जसको अनुसरण नेपालले पनि गरिरहेको छ ।

साँच्चै भन्ने हो भने यति बेला नेपालीहरूले दिल खोलेर नेपाल सरकारलाई मद्दत गरिरहेका छन् । घरभित्रको दैनिकीमा सीमित भएको नेपाली समाजमा मनकारीहरूले हातमुख जोर्न गाह्रो भएको व्यक्तिहरूलाई राहत वितरण गरेर आफ्नो खुला हृदयको पहिचान दिइरहेका छन् । तर विडम्बना सरकारले, नेपाली जनताले दिएको योगदानको मूल्याङ्कन गर्न सकिरहेको छैन । जनतालाई घरभित्र थुनेर राजनीतिको खेलमा होमिएको सरकारले पर्याप्त मात्रामा पी.सी.आर टेस्ट गर्ने पनि सकिरहेका छैन । पहिलो कोरोना सङ्क्रमण देखिएको काठमाण्डौं, अन्य जिल्लाको तुलनामा सुरक्षित देखिएको छ भने सिमानाका जिल्लाहरूमा दिनप्रतिदिन जोखिम बढिरहेको छ । यदि समयमै सीमा प्रवेश गर्न चाहनेलाई व्यवस्थित तरिकाले प्रवेश दिई क्वारेन्टाइन र पी.सी.आर टेस्टको दायरा बढाएको भए पक्कै पनि ती जिल्लाहरू अहिले यति साह्रै जोखिम युक्त हुने थिएनन् ।

जसरी काठमाण्डौं, भक्तपुर र ललितपुरलाई सुरक्षित राख्नको निम्ति यसका ६ वटा नाकाहरूमा कडाइ गरिएको छ त्यसैगरि तराईका सीमाहरूमा पनि कडाइ गरेको भए नेपालमा सङ्क्रमितहरूको सङ्ख्या बढ्ने थिएन । भारतले यात्रुवाहक रेल सञ्चालनमा ल्याई सकेको छ । यातायात सहज हुँदा सिमानामा चाप बढ्ने निश्चित छ र चापसँगै सङ्क्रमितहरूको सङ्ख्या बढ्ने पनि प्रायः निश्चित नै छ । तसर्थ अबको समय भनेको कुर्सी जोगाउनतिर होइन, सिमानाका जिल्लाहरूलाई जोगाउनुतिर ध्यान दिन आवश्यक छ । सिमानामा नेपालीहरू रोकेर राख्नु भन्दा उनीहरूलाई व्यवस्थित गरी क्वारेन्टाइनमा राख्न र चेक जाँच बढाउन आवश्यक छ । सिधा बाटो घर फर्किन पाएपछि कुनै पनि नेपालीले लुकीछिपी चोर बाटो गाउँमा पस्दैनन् । लुकेर चोर बाटो गाउँमा आइपुग्दा अझ धेरै जोखिम भएको हुँदा सीमाबाट कति नेपालीले प्रवेश गरे सो को तथ्याङ्क राखी उनीहरूबाट अरूमा सङ्क्रमित हुन नदिनु नै आजको आवश्यकता हो ।

अझै पनि समय छ, पुरै देशलाई जोखिममा पार्नुभन्दा सिमानामा कडाइ गर । सिमानाबाट प्रवेश गर्ने नेपालीहरूको तथ्याङ्क राखी प्रवेश गर्न देऊ, उनीहरूलाई क्वारेन्टाइनमा राख र कोरोना सङ्क्रमण नभएको सुनिश्चित गरेपछि मात्र गाउँ पस्न देऊ । यदि अझै पनि सिमानामा कडाइ नराख्ने हो र नेपाल प्रवेश गरेका नेपालीहरूलाई क्वारेन्टाइनमा नराख्ने हो भने नेपाल पनि इटली र अमेरिका नहोला भन्न सकिँदैन । तसर्थ लकडाउन गरेर मात्र समस्या समाधान हुँदैन, धेरै भन्दा धेरै व्यक्तिहरूलाई चेक जाँच गरेर देशलाई जोगाउने तर्फ कदम बढाउन जरुरी छ । हिमाल, पहाड तराई सबै हाम्रै हो । अब काठमाण्डौंको नाका बन्द गरेर काठमाडौँलाई मात्र सुरक्षित बनाएर हुँदैन तराईलाई पनि सुरक्षित बनाउनु आवश्यक छ ।