कोभिड-१९ : नेपाललाई सहयोग गर्नेमा चीन अघि, ‘सहायता सामान सहित चिनियाँ जहाज आउँदै’

काठमाडौँ। कोरोनाभाइरस सङ्क्रमणविरुद्ध लड्न नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै सहयोग गरेको देश चीन रहेको छ । चीनबाट जनमुक्ति सेनाको विमान सहायता सामान बोकेर बुधवार काठमाडौ ओर्लिने अधिकारीहरूले बताएका छन्।
नेपाली सेनालाई चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीहरूका साथ चीनको वायुसेनाको एउटा विमान नेपाल आउने भएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चिनियाँ जनमुक्ति सेनाको विमान स्वास्थ्य सुरक्षा सामग्री लिएर काठमाडौ आउन लागेको हो।
त्यसमा स्वास्थ्यकर्मीलाई आवश्यक पीपीईजस्ता सुरक्षा सामग्री रहेको बताइएको छ। अधिकारीहरूका अनुसार कोरोना भाइरसविरुद्धको जारी सङ्घर्षमा सरकारी स्तरबाट नेपाललाई सहयोग गर्नेमा चीन सबैभन्दा अग्र स्थानमा छ।
चीनको केन्द्रका साथै प्रान्तीय सरकार र अन्य विभिन्न सहरहरूले पनि अलग अलग सहयोग पठाएका छन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने नेपाली सेनालाई सहायतास्वरूप दिने स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको ठूलो विमान काठमाडौ आउँदैछ। नेपाली सेनाले त्यसबारे औपचारिक जानकारी भने दिएको छैन।
प्रतिक्रिया दिनुहोस्