राष्ट्रियता भाषणमा, सीमारक्षक सिपाही भत्किएका झुप्रोमा

काठमाडौंं ।
सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ ।
कोरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन् धेरै बिजोग छ । हुरी, बतास आउँदा र पानी पर्दा उनीहरू पाल समातेर बस्न विवश छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन्।
बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहरूले भारतकै सिम प्रयोग गर्नुपर्छ।
‘कोइलाबासबाहेक अन्य कुनै पनि स्थानमा हाम्रो फोनले काम गर्दैन । कतैकतै स्काईको सिमले काम गरे पनि भरपर्दो छैन । जिल्लासँग सम्पर्क गर्नुपर्दा र इन्टरनेट प्रयोग गर्नुपर्दा भारतीय सिमको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सशस्त्र प्रहरी बल कोइलाबासका इन्स्पेक्टर विशाल पाण्डेले भने, ‘यसो गर्दा सुरक्षा जोखिम त छ, तर अर्को उपाय पनि छैन ।’ अस्थायी पोस्टहरू स्थानीय विद्यालयमा राखिएका छन्।
सुरक्षाकर्मीले दैनिक उपभोग्य सामान पनि भारतबाटै ल्याउनुपर्छ । विद्युत् नहुँदा सोलारबाट सञ्चारसेट चार्ज गर्छन् । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ।
‘नेपालतर्फ सडक सञ्जाल जोडिएको छैन । त्यसैले एउटा पोस्टबाट अर्कोमा जानुपरे भारतकै सडकको प्रयोग गर्नुपर्छ,’ इन्स्पेक्टर पाण्डेले भने, ‘अर्को देश भएकाले भारतीय अनुमति नलिई हातहतियार पनि बोक्न पाउँदैनौँ ।’
गत आइतबार भारतको हिमाञ्चल हुँदै नेपालको पश्चिम क्षेत्रमा हावाहुरीसहित ठूलो वर्षा भयो । दिउँसो करिब ३ बजेतिर हावाहुरी धनगढी आइपुगेको खबर सुनेपछि बर्दियाको कालाबन्जरस्थित सशस्त्र प्रहरीको बिओपीमा हल्लीखल्ली मच्चियो ।
हावाहुरीबाट टिनका टहरा जोगाउन हतारहतार जवानहरू खटिए । टिनका छानामा माथिबाट फलामे तार लगाई जमिनमा काठका किला ठोकेर बाँध्न थाले । तर, हुरी आउन्जेल गाडी राख्ने र खाना खाने टहरो भने बाँध्न भ्याएनन्, दुवै टहराको टिन हुरीले उडाएर लग्यो।
कैलालीको फूलबारीस्थित वडा कार्यालयको भवनमा बसेको सशस्त्र प्रहरीको बिओपीमा न्यूनतम पूर्वाधारसमेत छैनन् । टिनको छानोमा रहेको एउटै हलमा कोचिएर बस्छ ३५ जनाको टोली। हलकै एक कुनामा कम्प्युटरलगायत सामान राखेर कार्यालय बनाइएको छ । ३५ जनाका लागि दुईवटा शौचालय र एउटा पानीको धारा छ।
भारतसँग इलामको सन्दकपुरदेखि रोङ गाउँपालिकाको जिर्मलेसम्म ५२.५ किलोमिटर भूमि जोडिएको छ । इलामको पशुपतिनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीले सीमा सुरक्षाका लागि दैनिक यो क्षेत्रमा गस्ती गर्नुपर्छ । यसका लागि सशस्त्रलाई महिनाको सय लिटर अर्थात् दिनमा करिब साढे तीन लिटर इन्धन मात्रै दिइएको छ।
त्यति मात्रै होइन, बिओपीमा एउटा मात्रै गाडी छ । यहाँ ३५ सशस्त्र प्रहरी कार्यरत छन् । उनीहरूले सीमामा हुने चोरीपैठारी नियन्त्रण र भिआइपीको सवारी हुँदा त्यसमा पनि परिचालन हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस्