काठमाडौं । हालसम्म विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ७८ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको संघले जनाएको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्यान्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्यान्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए । यो साता मात्रै ५ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरूको संख्यामा युके २, स्वीडेन १, बहराइन १, युएई १ थपिएका छन् । यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरूको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीहरूको ज्यान गएको छ भने २० देशमा रहेका नेपालीहरू कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्यान्डमा २२, स्पेनमा १२, अस्ट्रेलियामा १२, बेलिजयममा ६, जापानमा १०, स्वीडरल्यान्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्यान्ड ४, साइप्रसमा ३, मलेसियामा ४९, न्युजिल्यान्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।