काठमाडौं । जर्मन क्लब डायनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण भेटिएपछि पूरै टिमलाई आइसोलेसनमा राखिएको छ ।

बुण्डेस लिगा–टु फुटबलको टिम डायनामोले कोरोना भाइरसको परीक्षण गर्दा अभ्यासमा फर्किएका दुई खेलाडीमा कोरोना भेटिएपछि पूरै टिमका खेलाडी, प्रशिक्षक तथा स्टाफहरुलाई दुई हप्ताका लागि आइसोलेसनमा राखेको हो । क्लबले आगामी १४ दिनसम्म आफूहरुले कुनै अभ्यास नगर्ने र कुनै खेल नखेल्ने भनेको छ ।

जर्मन फुटबल बुन्डेस लिगा र बुन्डेस लिगा–२ यही मे १६ बाट पुनस् सुरु हुँदैछ ।

बिहीबारमात्रै जर्मन फुटबल लिग (डिएफएल) कोरोनाको कारण रोकिएको लिग मे १६ बाट सुरु गर्ने निर्णय गरेको थियो । बुधबार जर्मन चान्सलर एन्जेला मर्केलले लिग सुरु गर्न अनुमति दिएपछि जर्मन फुटबल लिगले सुचारु गर्ने निर्णय गर्दै खेल तालिका निकाल्यो । तर दोस्रो डिभिजनको क्लबका खेलाडीमा कोरोना भाइरस देखिएपछि फेरि समस्या देखिएको छ ।

यो लिग सुरु भए कोरोना भाइरसबाट रोकिएका युरोपका लिगहरुमध्ये पुनः सुरु हुने बुन्डेस लिग सबैभन्दा पहिलो हुनेछ । एजेन्सी