काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको छ ।

भारतले नेपाली भूभाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारको आधिकारिक प्रतिक्रिया आएको हो । परराष्ट्रले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त लिंक रोड नेपाली भूभाग रहेको बताएको छ । नेपालले पहिल्यैदेखि भन्दै आएको छ, भारतले हिजो उद्घाटन गरेको लिपु लेक जोड्ने लिंकरोडको क्षेत्र नेपाली भूभाग हो जारी विज्ञप्तिमा भनिएको छ ।

सुगौली सन्धिअनुसार लिम्पीयाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ । विगतमा यो नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्साको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत नेपाल सरकारले यसलाई दोहोर्याएको थियो । जारी विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्रले एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ । सरकार दुइ देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्साको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।