काठमाडौँ। राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७”, “राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७” गरे ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गरे ।

शोक प्रस्ताव

वैठकले पहिलो संविधानसभा सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल र शिवनारायण उराँवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली जनता दलका तर्फबाट संविधानसभा सदस्य र अग्रवालको ७५ वर्षका उमेरमा गत फागुनमा निधन भएको थियो । नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहनुभएका उराँवको ६१ वर्षका उमेरमा यही वैशाखमा निधन भएको हो ।

बैठकले उनीहरु दुवैको निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २८ गते अपराह्न १ बजे बस्ने छ ।