काठमाडौँ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण देश यति बेला ‘लकडाउन’ मा छ । सरकारले देश लकडाउन गरेको आज करिब ४६ दिन पुगिसकेको छ । यहाँसम्म आइपुग्दा सरकारले गरेको लकडाउनले राम्रै प्रभाव जमायो अर्थात् भाइरस नियन्त्रणमा ठुलो भूमिका निर्वाह गर्‍यो ।

सरकारले हप्ता÷हप्ता भन्दै थपेको लकडाउन आज महिनौँसम्म प्रवेश गरिसकेको छ । यो अवस्थामा अत्यावश्यक सेवाबाहेक सरकारले अरू सबै सेवा बन्द गरेको थियो । सरकारको यो आदेश जनताले निसर्त पालना गरे । यो अवस्थामा कतिपय जनताले आफ्नो रोजगारी पनि गुमाए, कतिलाई भोकमरीले पनि नराम्रोसँग गाँज्यो पनि ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिँदै सरकारले देश लकडाउन गर्नुपर्थ्यो तर सरकारले भाइरसको फैलावट भइसकेपछि देश लकडाउन गर्‍यो । यसले पनि भाइरसको फैलावटलाई निरन्तरता दिएको कतिपयको आरोप छ ।

सरकारले अबका दिनमा लकडाउनलाई निरन्तरता दिने तर यसलाई अलि खुकुलो बनाउने निर्णय सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको निर्णयमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरू पनि केही मात्रामा खुकुलो गर्ने भनिएको छ । जुन सेवा अहिलेका लागि त्यति आवश्यक छैनन् । यदि सरकारले यी सेवाहरू सञ्चालनमा ल्यायो भने देश कोरोनाको जोखिम मोल्न सक्ने अवस्थामा छैन ।

अत्यधिक भिडभाड हुने उद्योगधन्दा र कलकारखानाहरू खोल्ने निर्णय गर्नु त्यो पनि देश कोरोनाको महामारीमा रुमल्लिएका बेला । यो जनतालाई छलकपट गर्नुबाहेक अरू केही हुनै सक्दैन । यस किसिमले सरकारले गरेको यो निर्णयले जनतामा सुरक्षा भन्दा पनि थप असुरक्षा पैदा गर्नेछ । काठमाडौँका लाखौँ जनता यति बेला लकडाउनमा बसिरहेका छन् । सरकारले गरेको यो निर्णयले हुनेखानेलाई बाहिर आऊ, ओहोरदोहोर गर, भिडभाड बढाउ भनेको छ । यदि यस्तो भयो भने नेपालको हालत पनि उही अमेरिका, इटलीको जस्तै हुने स्वाभाविक छ ।

जति बेला भाइरसको एउटा पनि सङ्क्रमण फेला परेको थिएन देश पूर्ण रूपमा ‘ग्रिन जोन’ मा थियो त्यति बेला लकडाउनलाई सरकारले पूर्णरुपमा कडाइका साथ लागू गर्‍यो । तर आज देश ‘रेड जोन’ मा भइरहेको परिप्रेक्षमा लकडाउनलाई अझ खुकुलो गर्ने निर्णय गर्नु जनताका लागि खेलबाड बाहेक अरू केही हुन सक्दैन ।

दिनदिनै देखिएका नयाँ सङ्क्रमितको सङ्ख्याले आम जनतामा थप डर पैदा गरेको छ । यस्तो प्रतिकूल अवस्थामा जनता लकडाउन खुकुलो होस भन्ने कदापि चाहँदैनन् । बरु सरकारले सेवा प्रवाह गर्न सकेको खण्डमा लकडाउनको पूर्ण पालना गर्ने पक्षमा छन् उनीहरू । सरकारका लागि लकडाउन खुकुलो गर्ने आदेश दिन सजिलै छ तर जनताका लागि यो आदेशको पालनाले देशमा महामारीको बाढी आउनेछ । जसलाई रोक्न कसैले सक्ने छैनन् । यसको आदेश दिनेहरू जो सरकारका प्रमुख मानिन्छन् उनीहरूका लागि यो गरिखाने बाटो बन्न सक्छ तर आम जनताका लागि यसको त्यति सान्दर्भिकता देखिँदैन । आदेश दिनेहरू काडमार्डौमा मज्जाले एकान्त वासमा बसिरहेका छन् तर राजधानीभन्दा बाहिर गएका मानिसहरूलाई राजधानी भित्रिन दिइएको छैन । यस्तो प्रतिकूल अवस्थामा पनि सरकारले यस्तो निर्णय लिनु आफैमा लज्जाको विषय हो ।

सरकारले लिएको यो निर्णयले कतै जनताको स्वास्थ्यमा खेलबाड ल्याउन खोजिएको त होइन ? जुन सेवाको अहिले कामै छैन, जुन उद्योग÷कलकारखाना खोल्दा अत्यधिक भिडभाड हुन्छ ती उद्योग र कलकारखाना खोल्नुको औचित्य के हो ? यस्ता तमाम प्रश्नहरू खडा भएका छन् । कोरोना भाइरसका लागि अपनाइने सशक्त माध्यम भनेकै भिडभाड कम गर्ने र सामाजिक दुरी कायम गर्ने हो तर यो निर्णयले यसलाई कदापि रोक्ने छैन । त्यसैले सरकारले पछिल्लो समय लकडाउनको स्वरूप फेर्ने निर्णयले आम जनतामा झन् डर मौलाएको छ । यसले जनतामा निराशा, समस्या पैदा गरेको छ ।