काठमाडौं । सरकारले कोरोना भाइरसबाट बच्नका लागि गरेको लकडाउनका कारण यतिबेला देश ठप्प छ ।

होटल, व्यापार, व्यवसाय, उद्योग प्रतिष्ठान बन्द भएका कारण देशैभरी ग्यासको मागमा गिरावट आएको छ । ग्यासको खपत २३ प्रतिशतले घटेको नेपाल आयल निगमले जनाएको छ । मार्चमा देशभर ४५ हजार टन ग्यास बिक्री भएकामा अप्रिलमा ३५ हजार टन ग्यास विक्री भएको छ । अर्थात मार्चमा ३१ लाख ५० हजार सिलिन्डर बिक्री भएकामा अप्रिलमा २४ लाख ५० हजार सिलिन्डर ग्यास बिक्री भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

भाइरसका कारण लकडाउन हुने समय अगावै ग्यासको अभाव सिर्जना भएको थियो । अभाव बढ्दै गएपछि निगमले आधा सिलिन्डर ग्यास पनि बिक्री गराएको थियो । करिब दुई साता आधा सिलिन्डर ग्यास विक्री गरिएपछि स्थिति सहज भएको भन्दै पुनः १४।२ किलोग्राम (भरी सिलिन्डर) ग्यास बिक्री सुरु गरिएको थियो । तर, पछिल्ला दिनमा ग्यासको खपत कम भएपछि यसको अभाव हटेको छ ।

हाल देशभर १० हजार टन ग्यास उद्योगीहरूसँग मौज्दात छ । यो भनेको करिब सात लाख सिलिन्डर ग्यास हो । आयात जारी भए पनि स्टक राख्न कुनै समस्या नरहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । तर, उनले खाली सिलिन्डर छ भने भरेर राख्न आग्रह गरेका छन् । बजारमा होटल, रेस्टुरेन्टसहित व्यापार व्यवसाय बन्द हुँदा त्यसको माग पनि कम भएको उनले बताए । “भारतबाट नियमित ग्यास आइरहेको छ,” उनले भने, “खाली सिलिन्डर घरमा छन् भने भरेर राख्नुहोला । कुनै पनि सिलिन्डर खाली नराख्ने हो भने स्टक हुन्छ र भोलि लकडाउन खुल्नेबित्तिकै माग बढ्दा पनि समस्या आउँदैन् ।” सामान्य अवस्थामा देशभर दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुन्छ ।