होटलले चैतको पारिश्रमिक दिए नदिएको अनुगमन हुने

काठमाडौं । होटल व्यवसायीहरुले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए/नदिएको भन्ने विषयमा श्रम विभागले अनुगमन गर्ने भएको छ ।
सरकारले लकडाउनका बेलापनि आफ्ना श्रमिक तथा कर्मचारीलाई सम्बन्धित उद्योग प्रतिष्ठानहरुले चैत महिनाको पारिश्रमिक दिनुपर्ने निर्णय गरेपछि कतिपय व्यवसायीहरुले यो निर्णयको विरोध गर्दै आफ्ना श्रमिक तथा कर्मचारीलाई तलब नदिएको गुनासो सुनिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा व्यवसायीले मुलुकभर रहेका सम्पूर्ण होटलमा कार्यरत श्रमिकलाई तत्काल चैत महिनाको पारिश्रमिक दिने विषयमा सहमति जनाएका थिए ।
होटल एशोसियशन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले उक्त कार्यको सहजीकरण गर्ने र सोको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । सरकारले प्रदान गरेको आर्थिक सुविधाको सदुपयोग गरी श्रमिकको पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्