आमा बुवाको कारण असफलता !

काठमाडौँ । हामी कुनै फरक परिवेशमा जन्मे हुर्केका होइनौ । गाउँकै हिलो, माटोसँगै रमाउँदै हुर्किएका मान्छे हौँ । हामीलाई काम नगरी खाना पुग्दैन झन् बसेरै कसरी खाना पुग्थ्यो ?
हाम्रा लागि समस्याहरूको लर्को लाग्ने गर्छ । तैपनि हामी यस्ता समस्याहरूबाट कहिल्यै भागेनौ र भाग्ने पनि छैनौ । किनकि हाम्रा लागि यो दैनिकी जस्तै भैसकेको छ । यस्तै समस्याहरूको सामना गर्दै हामी बिस्तारै जीवनको यात्रामा अघि बढ्छौ । उमेरले हामीलाई धकेल्दै लगिरहेको हुन्छ । अहिले हामी विद्यालय तह हुँदै क्याम्पस तह पढ्ने भएका छौँ । यो समयमा हाम्रा थुप्रै साथीभाइहरू हुन्छन् । साथीहरू कसैको पारिवारिक स्थिति धेरै राम्रो हुन्छ भने कसैको नाजुक नै हुने गर्दछ । जेसुकै होस साथीहरू धेरै नै घमन्डका साथ आफ्नो पारिवारिक स्थितिका बारेमा गुणगान गाउने गर्छन् । मेरो ड्याडले यस्तो गर्नु हुन्छ मामुले यस्तो गर्नु हुन्छन् भन्ने गर्छन् । यति घर छन् बजारमा यति घडेरी छन् मेरो लागि २२० पल्सर बाइक छ, मामु ड्याडीको छुट्टै कार छ भनी धाक लगाउँदै हिडछन । हाम्रो घर यस्तो हाम्रो परिवार यस्तो उस्तो भन्दै अनेक अफवाह फैलाउँदै हिडछन । कहिलेकाहीँ हामीलाई नि मेरो घरमा जाऊ हिँड भन्छन् तर मेरो त्यहाँसम्म पुग्ने औकात नै कहाँ छ र रु मसँग उनीहरूलाई मेरो घरसम्म जाऊ भन्न सक्ने औकात पनि छैन ।
मन बुझाएर साथीको घरसम्म पुगेपनी मैले धेरै कुरा उनीहरूका आमा बुवाको अगाडि ठग्नु पर्थ्यो । हामी यसरी हुर्केका रहेछौँ कि जहाँ एकैसाथमा आमा बुवाको माया, साथ पाउन सकेका रहेनछौ । जहाँ पायौँ त्यही नै भुल्नु पर्ने । यो अवस्थामा छौँ झैँ लाग्दैन थियो जब हामी सानै संसार, सानै उमेरमा थियौ । तर अहिले अलि बढी उमेरमा छौ । ठुलै सपना देख्न थालेका छौ । घरमा गरिब परिवार, गरिबीकै कारण सधैंजसो हुने झगडाले गर्दा न हामी पछाडि फर्कन सक्ने भएका छौँ न त अगाडि बढ्न नै सकेका छौँ । पढ्दा पढ्दै बिच्चैमा छोड्ने कि जोड्ने भन्ने पनि दोधार छ हामीलाई । साथी भाइको अगाडि बोल्न सक्ने कुनै ठाउँ नै छैन ।
हिजो जस्तो लाग्छ मलाइ । एक जना साथीले तिम्रो घरमा जान मन छ त्यो गाउँ बस्ती घुम्न मन छ मलाइ तिम्रो घरमा लैजाऊ भनेको । तर मैले अनेक बहाना बनाएर एक्लै मन रुहाउदै घरमा फर्किए । मैले मेरो घर परिवारको बारेमा वास्तविक कुरा भन्ने कुनै ठाउँ पनि रहेन र मैले पहिले ठगेको कुरा पनि यो झुटो हो भनी भन्न पनि सकिन । यसरी आफ्नो परिवारको वास्तविक कहानी कसैलाई भन्न सकिएन । भनूँ पनि कसरी रु विविध बाध्यताहरू थिए हाम्रो परिवारमा । अब त हामी पनि बिहे गर्ने उमेरका हुन लागि सक्यौ । दाजुभाइको लागि केटी अनि दिदीबहिनीको लागि केटाहरू पनि हेर्न आउने जाने गर्नु पर्ला नि तर म भने आफ्नो घर परिवार आमा बुवाको सम्बन्ध सम्झेर बसिरहे । सानो तिनो सपनाको संसार बसाउने चाहना हुँदाहुँदै पनि बन्द कोठामा बसी यी हातले आशुका धारा पुछ्दै मनमा खेलिरहेका मेरा वास्तविक जिन्दगीका कथा व्यथाहरू यी कापीका पाना अनि कलम सङ्ग खोल्दै छु ।
आमा बुवाको कारण होस या आफ्नो घर परिवारको कारण होस आफ्नो छोराछोरीको भविष्यलाई कसैले पनि नबिगारिदिऊ । अरूको अगाडि एक शब्द भए पनि बोल्न पाउने ठाउँ राखी दिऊ । आमा बुवा भगवान् सरि भए पनि आफ्नो सन्तानको लागि सबै ढोका खोलिदिऊ ।
सागर क्षेत्री,
प्रतिक्रिया दिनुहोस्