चिकित्सकमाथि हातपात गर्ने तीन पक्राउ

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत चिकित्सकमाथि हातपात गरिएको छ । सो स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक नवीन सहनीमाथि स्थानीय युवाले हातपात गरेका हुन् ।
उनलाई शुक्रबार त्यहाँका स्थानीय युवाहरुले हातपात गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन । चिकित्सकमाथि हातपात गर्ने स्थानीय ३ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा स्थानीय तिलक सिंह, चक्र बहादुर वुढा र पदम नेपाली रहेका छन ।
के कारणले चिकित्सकमाथि आक्रमण गरिएको हो भन्ने विषय अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनासहित चिकित्सकलाई पनि सदरमुकाम खलंगा ल्याइदै छ । उक्त घटना भएको ठाउँ सदरमुकामबाट करिब दुइ दिनको दुरीमा अवस्थित छ । त्यहाँ यातायातको पनि असुविधा भएका कारण अनुसन्धानमा अलि ढिलाई हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्