… र एक ड्राइभरका कारणले उनको जिन्दगी यस्तो भयो !

काठमाडौँ । यो धर्तीमा मानिस केही गर्नका लागि जन्मिने गर्छन् । जन्मदा मानिसका लागि यो संसारको सबै नियम नयाँ लाग्छ । बिस्तारै ऊ ठुलो हुँदै जान्छ, संसारको नियम बुझ्दै जान्छ । आफूले गर्नुपर्ने काम र कर्तव्यमा तल्लीन हुन थाल्छ । समय र परिस्थितिले उसलाई काम र कर्तव्यको जिम्मेवारी फरक फरक दिन सक्छ । जे–जस्तो काम र कर्तव्यको जिम्मेवारी पाए पनि उसले त्यसलाई सहजताका साथ उचित समयमा पूरा गर्न सक्यो भने उसलाई थप हौसला, थप प्रेरणा अनि थप आँट मिल्ने गर्दछ । मानिसले मानिस हुनुको कर्तव्य निभाउन सकेन या जानेन भने उसको कुनै अर्थ रहँदैन । बाँचुन्जेल उसका सामु अनेक चुनौती, अनेक अप्ठ्यारा, अनेक दुख, कष्ट आउने गर्दछन् तिनलाई सहजताका साथ समाधान गर्न लागियो भने जिन्दगीमा सफलता हासिल गर्न त्यति समस्या छैन । मान्छेले मान्छे हुनुको कर्तव्य निर्वाह गर्न सकेन कर्तव्यबाट पन्छिन खोज्यो भने उसका लागि मान्छेको अनुभूति भद्दा मजाकबाहेक केही हुन सक्दैन । एक किसिमले ऊ मान्छे भएको बित्थामा जस्तै हुन्छ । असल मान्छेमा त असल मानवीय व्यवहार हुन्छ, असल संस्कार हुन्छ, सानालाई माया र ठुलालाई आदर गर्ने शैली हुन्छ । जीवनको दौरानमा कत्तिका सपना पूरा हुन्छन्, कत्तिका सपना भएर पनि पूरा गर्न नसकिने हुन्छन् ।
कसैका लागि परिस्थिति सहज बनिदेला, कसैका लागि परिस्थिति सहज नबनिदेला त्यो सबै भावीको खेल भइगयो । कसैलाई स्वस्थ जीवन भएर पनि अस्वस्थ लाग्ने, कसैलाई अस्वस्थ जीवन पनि स्वस्थ लाग्ने । सबैको आफ्नै संसार छ, आफ्नै जीवनशैली छ । जब मान्छेले सोचेको कुरा पुरा गर्न सक्दैन या ऊ चाहेर पनि सोचेको काममा सफल हुँदैन भने उसले पीडा र रोदनको जिन्दगी जिउनुपर्दो रहेछ । यो उसको रहर होइन, चाहना होइन, उसले सोचेको र चाहेको धेरै छ तर बाध्यात्मक परिस्थितिका अगाडि ऊ सदाका लागि कहिल्यै नउठनेगरी ढल्दो रहेछ ।
जुन मानिसहरू शारीरिक रूपमा स्वस्थ छन् उनीहरू एक पटक ढले पनि अर्को पटक सहजै उठ्न सक्छन् । उनीहरूका लागि यो निरन्तर चलिरहने प्रक्रियाजस्तै हो । तर जुन मानिसहरू शारीरिक रूपमा पूर्ण अस्वस्थ छन् उनीहरूका लागि जिन्दगी केवल एक पटकका लागि मात्र हुँदो रहेछ । स्वस्थ मानिसहरूका लागि जुनसुकै ठाउँमा जति बेला पनि काम गरेर खान सक्ने क्षमता हुन्छ तर अस्वस्थ मानिसहरूका लागि यो केवल काल्पनिक मात्र हुन्छ । उनीहरूका लागि सीमित ठाउँमा मात्र सीमित काम विरलै पाइएलान् । पाइए पनि साहु, महाजनहरूबाट गाली, बेइज्जती मात्रै खाइन्छ । एक किसिमले उनीहरूले तिनको गाली, बेइज्जतीका लागि काम गर्दैछन जस्तो । कति दिन त तिनले बिना पैसामा काम गरे तैपनि हेपाहा प्रवृत्ति कहिल्यै रोकिएन । शारीरिक रूपमा एक अस्वस्थ मानिसलाई जब ठुला बडा हाकिमहरूले यस किसिमको व्यवहार प्रदर्शन गर्न थाल्छन् तब उ न्यायको शरणमा पुग्दछ । न्याय पाउने आशामा उसले देशका सबै प्रशासन र निकायहरू चहारेको चहारेइ हुन्छ तर ठुला बडा हाकिमहरूका अघि उसको केही लाग्ने रहेनछ । अनेक झुटा आरोप लगाएर उसलाई अन्यायको माला भिराइन्छ । आफूले न्यायको अनुभूति गर्न नसकेपछि ऊ आफ्नो अस्वस्थ शरीर कौडीको भाउमा बेच्न बाध्य हुन्छ । जति गर्दा पनि उसले जिन्दगीमा कहिल्यै न्यायको खेती गर्न पाएन, उसको जीवन न्यायको तराजुमा कहिल्यै जोखिएन जोखियो त केवल झुट र अन्यायको तराजुमा । अनि बनाइयो झुट र अन्यायको पुलिन्दा । यसरी ऊ आफ्नै जिन्दगीसँग पराजय स्वीकार गर्छ र त्यही अन्यायमा पाएको जिन्दगी उसका लागि औधी प्यारो लाग्छ ।
बि सुरेश वैरागी कान्छा । उनको वास्तविक नाम सुरेश बिक हो । जीवनको भोगाइले उनको नाम मात्र होइन जिउने शैली नै फेरिदिएको छ । जिन्दगीमा सोच्दै नसोचेको कुरा गर्नुपर्दो रहेछ, भोग्दै नभोगेका समस्या भोग्नुपर्दो रहेछ । उनका लागि अहिले यस्तै भएको छ । हाल उनको कम्मर मुनिको आधा शरीर निष्क्रिय छ । कामै नलाग्ने । उनी यो समाज र देशले अयोग्य साबित गरिदिएका अपाङ्ग हुन । अपाङ्ग भएकै कारण उनी समाजका ठुलाबडाहरुबाट अपहेलित छन् । उनका लागि समाजले गर्ने व्यवहार अरूभन्दा पृथक् छ । उनलाई समाजले अयोग्य साबित गरेको त छ नै त्यसमा पनि भेदभावपूर्ण व्यवहार गर्न कहिल्यै छोडेको छैन । यो उनको मात्र पीडा होइन उनीजस्ता अपाङ्गता भएका व्यक्तिहरू सबैको पीडा हो । जुन उनीहरूका लागि दैनिकी बन्ने गरेको छ । सधैँ अर्काकै भरमा बस्नुपर्ने, अरूको गाली सहेर पनि चुपचाप बस्नुपर्ने बाध्यतामा छन् उनीहरू । आखिर उनीहरू पनि यही समाजका सदस्य हुन । उनीहरूको पनि आफ्नै जिन्दगी हुन्छ । उनीहरूलाई पनि समाजसँग सहकार्य गरेर अघि बढ्ने चाहना हुन्छ । तर समाजका बुद्धिजीविहरुले उनीहरूलाई छुट्टै समूहमा भागबण्डा गरिदिन्छन् । शारीरिक रूपमा उनीहरू अरूभन्दा फरक भए पनि मानसिक रूपमा सबैसँग बराबरी छन् । उनी यस्तै पीडा, वेदना लिएर यही समाजमा जीवन बिताइरहेका छन् । उनका लागि यो समाज भिन्न लाग्दै छ । मानवताको खोल ओढेर अमानवीय व्यवहार गर्ने समाजका मान्छेहरूलाई उनले केही गर्न सकेका छैनन् । सकेका छन् त केवल उनीहरूको हेपाहा प्रवृत्ति ।
उनको स्थायी घर रोल्पा जिल्लामा हो । हाल उनी दाङ जिल्लाको तुलसीपुर सहरमा बस्दै आएका छन् । उनको साथमा आमाबाहेक अरू कोही छैनन् । एक्ली आमाको साथमा रमाइरहेका छन् उनी । उनको बुबा भएर पनि नभएको जस्तै रहेछ । उनका बुबाले उनकी आमासँग बिहे गर्नुभन्दा पहिले नै तीन जना महिलासँग बिहे गरिसकेका रहेछन् । पछि उनको आमासँग उनले बिहे गरेका रहेछन् । बिहे भइसकेपछि यो जोडीबाट जन्म लिने उनी एक्ला सन्तान थिए । घरमा बसिरहँदा उनलाई र उनको आमालाई बुबाले अनेक टर्चर दिने, घरमा नबस, छिटो निक्लिहाल भन्दै धम्की दिन्थे । त्यति मात्र होइन रक्सीको मातमा आमालाई नाना थरी गाली गर्ने, कुटपिट गर्ने गर्थे । उनले भावुक हुँदै भने । त्यसपछि उनीहरूलाई त्यो नमिठो बोली सधैँ सुनिरहन दिक्क लाग्न थाल्यो । अब योभन्दा घर छोड्नु नै उपयुक्त लाग्यो उनीहरूलाई । र घर छोडेर हिँडे पनि । पश्चात्ताप उनीहरू सल्यान जिल्लाको कपुरकोटमा कोठा भाडामा बस्न थाले । त्यहाँ उनको आमाले दैनिक ज्यालादारी गरेर खान बस्न चल्थ्यो । दिनको त्यही २०÷३० रुपैयाजति । त्यसपछि उनले आमाको यो दुख हेरिरहन सकेनन् । अब आफै कमाएर आमालाई पाल्छु भन्ने सोच लिए उनले । यो सोच लिइसकेपछि उनी पैसा कमाउन भारत लागे । त्यहाँ उनी करिब ६ महिना जति बसे र धेरथोर पैसा लिएर घर फर्किए । घर फर्किसकेपछि उनले कसैको सल्लाहमा सल्यानको कपुरकोट छाड्ने निर्णय गरे । यसका साथै उनले आफ्नो पढाइलाई पनि विश्राम दिए र दाङको तुलसीपुर सहरमा बस्न थाले । त्यहाँ उनका लागि सानो काम मिलेको थियो । तुलसीपुरमा रहेको घटाल बाबा कम्पनीको पानी टयाङकरमा उनले सहचालकको काम पाए । त्यसपछि उनले सवारी चालक पत्र लिए र त्यही टयाङकरको उनी ड्राइभरको रूपमा बढुवा भए । त्यही काममा बहाल रहेका उनी यो बेलासम्म पनि पूर्ण रूपमा स्वस्थ थिए ।
एक दिन उनी सुतेको बेला उनको शरीरमाथि कुनै ड्राइभरले टिपर हुइँकायो । जब उनी चिच्याउन थाले उनका साथीहरूले सुने र त्यो ड्राइभरलाई गाली गर्न थाले । बल्ल उसले सुन्यो र गाडी रोक्यो । त्यो दिनदेखि उनको आधा शरीर कामै नलाग्ने भयो । पूर्ण रूपमा निष्क्रिय । अब उनी कुनै कम्पनीको कामका लागि उपयुक्त भएनन् । पूर्ण रूपमा अपाङ्ग भए उनी । उनले यो सोचेका थिएनन् । सोचेका थिए त आमालाई पाल्ने, पैसा कमाउने । तर जिन्दगीमा भोग्नुपर्ने अर्कै रहेछ । मान्छेहरू जे सोच्छन् त्यो पूरा गर्न पाउने रहेनछन् । उनका लागि पनि त्यही भइदियो । उनले अब चाहेर पनि त्यो जिन्दगी जिउन पाएनन् । त्यसपछि उनलाई अस्पताल पुर्याइयो । अस्पतालमा केही उपचार गरेपछि उनको दुखाइ केही मात्रामा कम त भयो तर पूर्ण रूपमा स्वस्थ भएर बाँच्ने उनको सपना चकनाचुर भैसकेको थियो । उनको शरीरमाथि गाडी हुइँकाउने ड्राइभर पनि उनकै कम्पनीमा कार्यरत थिए । यो घटना हुनुभन्दा पहिले उनको र ती ड्राइभरको केही भनाभन भएको उनी बताउँछन् । यस अर्थमा ड्राइभरले यो घटना जानाजान गरेको उनको दाबी छ । प्रहरीमा जाहेरी दिँदा यस विषयमा उनी आफैलाई गलत साबित गरियो । ‘बयानमा भनियो कि ऊ आफै घरको छतबाट खसेर यस्तो अवस्थामा पुगेको हो ।’ उनको अनपढ आमालाई लिएर जर्बजस्ती रूपमा यसमा औँठा छाप लगाउन पठाइयो । जिन्दगी खुसीका साथ जिउने उनको सपना तुहिए पनि आफूलाई यस्तो अवस्थामा पुर्याउने ड्राइभरलाई कानुनी कारवाहीमा ल्याउने उनको ठुलो धोको थियो तर त्यो पनि पूरा हुन सकेन । गलत बयानका कारण उनले कानुनी रूपमा पराजय बेहोरिसकेका थिए ।
यसरी कानुनी रूपमा पनि पराजय बेहोरेपछि अब उनका लागि बाँकी के नै रहयो र १ सबै सपना निमेषभरमै खरानी भए । एक किसिमले उनको जिन्दगीमा डढेलो लाग्यो । तैपनि उनले न्यायको आशा अझै मारेनन् । न्यायको याचना गर्न कति पत्रकार सम्मेलनहरू गरेँ, कति मान्छेहरूलाई गुहारेँ तर कानुनी रूपमा मैले पूर्ण रूपमा हारिसकेको रहेछु । ठुलोबडाका अघि कसैको केही लाग्ने रहेनछ । मैले न्यायको अनुभूति गर्न सकिन । उनी भक्कानिए । पत्रकारहरूलाई आफ्नो सत्य कुरा मिडियामा ल्याइदिनुहोस् भनेर उनले मिडिया धाएको धायै गरे तर बुर्जुवा वर्गको मिडियाले उनीजस्ता सामान्य मान्छेहरूको समस्या के देख्थे । पत्रकारहरूले चाहेर पनि उनका समस्या लेख्न मानेनन् कारण उनका साहु ठुलै पार्टीका थिए । हामीले उनको विषयमा यस्तो लेख्यौ भने हामीलाई अप्ठ्यारो हुन्छ भन्दै टारिदिन्थे । उनी गुनासो गर्छन् । कम्पनीका मालिकले उनले गर्न सक्ने काम दिएर जिन्दगीभरि पुग्ने खर्च दिने भनेका थिए । उनको उपचारको खर्च पनि कम्पनीले नै व्यहोर्ने भनियो तर कम्पनीले उनको खर्चमा अनावश्यक चिज बढाएर थोरै खर्च आएको ठाउँमा पनि धेरै खर्च भयो भनेर अफवाह फैलाउने रहेछ । उपचार जति गरे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उपचारका लागि उनलाई कहाँ लगिएन, कुन अस्पताल पुर्याइएन तर उनको शरीरले पूर्ण रूपमा निदान पाउन सकेन । उपचारका क्रममा उनलाई कुनै डाक्टरले यसको भाग्यमा नै यस्तै लेखेको भनिनिए र उपचारका लागि खर्च व्यहोर्ने जिम्मा लिएका कम्पनीका मालिकले उनलाई अब बेवास्ता गर्न थाले । कुनै पनि कम्पनीमा काम गर्ने कर्मचारी कम्पनीको काम गर्दागर्दै रोगले ग्रस्त भयो भने उसका लागि उपचारको व्यवस्था त छँदै छ अन्य कुराहरू पनि कम्पनीले जिम्मा लिन्छन् । उनी भन्छन् । तर उनका लागि त्यो भएन । त्यसपछि उनलाई कम्पनीले एक लाख पचास हजार जति दियो । त्यो पैसाले के पुग्थ्यो तैपनि उनी त्यसमा चित्त बुझाउन बाध्य भए ।
कुनै दिन उनी सडकमा भिख मागेर पनि हिडने गर्थे । त्यो पनि भोक भोकै । उनको शारीरिक अवस्था नाजुक त थियो नै त्यसमा पनि आर्थिक अवस्था झन् नाजुक भइदियो । उनी तिनपाङ्ग्रे कुर्सीको मद्दतले हिँडिरहेका छन् । कतै टाढाको यात्रा गर्नुपर्यो भने कसैले सहयोग गरिदिए यात्रा गर्न सक्छन् । उनलाई जीवन्त सहयात्रामा साथ दिने प्रण गरेका साथीहरूले पनि छाडिदिए । त्यसका लागि उनले आनाकानी गरेनन् । सबैको आ – आफ्नो जिन्दगी हुन्छ । साथीहरूको त्यो जिन्दगीमा उनी बाधक बनेनन् । अब यसरी जिउन सम्भव नहुने रहेछ भन्ने उनलाई लाग्यो र उनी कामको खोजीमा भौँतारिन थाले । शारीरिक रूपमा तन्दुरुस्त मान्छेका लागि त काम कठिन हुन सक्छ, स्वस्थ मान्छेहरूले त काम गर्न सक्दैनन् उनी त शारीरिक रूपमा अशक्त थिए । आज उनका बुबाले आफ्नो जिम्मेवारी पूरा गरेको भए उनको जीवन सायद यो हुने थिएन । यदि भएको थियो भने पनि यस्तो अवस्थामा पनि उनी कामको खोजीमा हिडदैनथे । तर त्यसो भएन । जिन्दगीको यात्रामा उनी एक्लो भए । आमासँग सहयात्रा गर्दै गए । आमालेपनि उनलाई साथ दिएकी छन् । यस अर्थमा उनी आमालाई भगवानको उपमा दिन कत्ति पनि पछि हटदैनन । उनको स्याहारसुसार आमाले नगरिदिएको भए र आमाले पनि बुबाको जस्तै आफ्नो जिम्मेवारीबाट पन्छिएको भए आज म यो ठाउँमा हुने थिएन । उनी आमाको प्रशंसा गर्दै भन्छन् ।
कामको खोजी गर्दै जाँदा उनले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा नाम दर्ता, बिल काउन्टरमा सामान्य ज्यालादारीमा काम पाए । काम पाए पनि उनले करिब १÷२ महिना सित्तैमा काम गरे । बिना पैसा । त्यसपछि उनलाई हल्काफुल्का पैसा आउन थाल्यो । अहिले उनको काम राम्रैसँग चलिरहेको छ । अस्पतालमा उनलाई राम्रै भएको उनी बताउँछन् । त्यहाँका कर्मचारीले आफूलाई राम्रै व्यवहार गर्ने गरेको उनको भनाइ छ । हाल उनको खुट्टा भाँचिएको छ । कोठामा हिँडडुल गर्ने क्रममा खुट्टा भाँचिएको उनले बताए । अहिले उनले आराम गरिरहेका छन् । अस्पतालमा उनले ४÷५ वर्ष सेवा गरेकाले अब ज्यालादारी होइन तलबको व्यवस्था भइदिए राम्रो हुने उनी बताउँछन् । महिनाको त्यही १२ हजार जति कमाइ हुन्छ तर त्यसले खर्च धान्न मुस्किल भएको उनको भनाइ छ । यस क्रममा उनलाई थुप्रै सहयोगी व्यक्ति र संस्थाहरूले आर्थिक सहयोग गरेका छन् । उनी ती सहयोगी व्यक्ति र संस्थाहरूप्रति आभार प्रकट गर्छन् ।
यसरी एउटा सर्वसाधारण मान्छेलाई ठुला बडा हाकिमहरूले नराम्रोसँग अपहेलना गरेका थुप्रै उदाहरणहरू छन् । शक्ति र सत्ताको पहुँचमा छु भन्दैमा कसैको जिन्दगी नै छताछुल्ल बनाइदिने अधिकार कसैलाई हुँदैन । तर सुरेश विकका लागि यो कल्पना मात्र भयो । कानुनले दोषीलाई कारबाही गर्छ, निर्दोषलाई न्यायको अनुभूति दिन्छ । उनका लागि ठ्याक्कै उल्टो भइदियो । उनको यो हालत बनाउने मान्छेसँग उनको कहिलेकाहीँ भेट हुन्छ तैपनि उनी कसैसँग रिस, राग राखेर तर्किएर हिडदैनन । बोल्छन् । यो उनको असल व्यवहार हो । आफू यस्तो अवस्थामा हुँदा पनि उनले जिन्दगीसँग हारेका छैनन् । उनमा शारीरिक रूपमा स्वस्थ हुनेहरूको भन्दा बढी काम गर्ने क्षमता छ, आँट छ, हिम्मत छ । उनी अझै थाकेका छैनन् र कहिल्यै नथाक्ने हिम्मत राख्छन् । उनको त्यो आँट र हिम्मतलाई देख्दा जो कोही पनि प्रभावित हुने गर्दछन् । उनीबाट सिक्नुपर्ने चिज धेरै छन् ।
प्रतिक्रिया दिनुहोस्