काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाँईले आफ्नो गृह जिल्ला काभ्रेपलान्चोकको स्थानीय तहहरुमा नेपाली काँग्रेस काभ्रेको तर्फबाट पिपिई र मास्क वितरण अभियान शुरु गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले उक्त अभियान थालिएको हो । अभियानको शुरुवातमा आज मण्डनदेउपुर र पाँचखाल नगरपालिका त्यसैगरी चौरीदेउराली र भुम्लु गाँउपालिकामा वितरण कार्य सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं केन्द्रीय ट्रेडयुनियन विभाग संयोजक शिवप्रसाद हुमागाँर्ई नेतृत्वको टोलिले पाँचखाल नगर प्रमुख महेश खरेल, मण्डन देउपुर नगर प्रमुख टोक बहादुर वाईबा, भुम्लु गाउपालिका अध्यक्ष गुमानध्वज कुँवर र चौरीदेउराली गाउपालिका अध्यक्ष दिनानाथ गौतमलाई हस्तान्तरण गरेको हो ।

वितरणमा पुर्व सांसद तीर्थ लामा, नेपाली काँग्रेस जिल्ला सचिव दिनेश लामा, नेपाली काँग्रेस सांसद उम्मेदवार सुन्दर मणी आचार्य, शिक्षक महासंघ अध्यक्ष आश्विन प्रसाद चौलागाई, क्षेत्रिय सचिव गुणराज मुक्तान, ट्रेडयुनियन काँग्रेसको जिल्ला उप–अध्यक्ष सन्तोष गौतम लगायत सहभागी थिए ।

स्वास्थ्यकर्मीहरु कोरोनाको उच्च जोखिममा रहेकोले उनिहरुको सुरक्षार्थ काभ्रेको सबै स्वास्थ्य चौकिमा पुग्ने गरि पिपिई र मास्क वितरण गरेको केन्द्रीय सदस्य हुमागाँईले बताए । साथै यो सामाग्री पर्याप्त नभए पनि यो संकटको घडीमा काँग्रेस पार्टिको तर्फबाट मायाको चिनोको रुपमा ग्रहण गर्न स्थानीय तहको प्रमुख हरुलाई हुमागाईले आग्रह गरे ।

वितरण गरिएका सामाग्रीहरुमा प्रति स्थानीय तह २०० थान मास्क र प्रत्येक स्वास्थ्य चौकिमा एक एक थान पिपिई पुग्ने गरि वितरण गरेको हो । उक्त सामाग्री ग्रहण गर्दै पाँचखाल नगर प्रमुख महेश खरेलले पार्टीले देखाएको एक्यवद्धता प्रति धन्यवाद दिए । त्यसैगरी मन्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाईबाले काँग्रेस पार्टीको साथ र सहयोग पाउँदा आफुलाई कोरोना विरुद्ध लड्न थप उर्जा मिलेको बताए ।

चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले पहिलोपटक नेपाली काँग्रेस केन्द्रीय सदस्य सामाग्री लिएर आफ्नो पालिकामा पाउदा खुसि व्यक्त गर्दै रोग र भोक को विरुद्धमा लड्नको लागि स्थानीय तहको आवाजहरु केन्द्र तिर पुर्याउन आग्रह गरे । भुम्लु गाउपालिका अध्यक्ष गुमानध्वज कुँवरले पहिलो पटक हाम्रो गाउपालिकामा पार्टीको सहयोग र सद्भाव प्राप्त भएकोमा खुसि व्यक्त गरे । यो अभियान जिल्लाका तेह्रवटै स्थानीय तहमा सञ्चालन गरिने नेपाली काँग्रेसको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।