काठमाडौं । सामाजिक सञ्जालमा गालीबेइज्जती गरेको अभियोगमा साइबर अपराधमा पक्राउ गरिएका पूर्वसचिव भीम उपाध्याय धरौटीमा रिहा भएका छन् । उनी २५ हजार धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरो (सिआइबी) ले बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको थियो । उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग लगाइएको थियो ।

सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिविधिविरुद्ध खरो आलोचना गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा पछिल्लो समय प्रधानमन्त्री लगायत सरोकारवालाहरुको घोर आलोचना गर्दै आएका थिए ।