काठमाडौं । सरकारले चैत ११ गतेदेखि लागु गरेको लकडाउनले कोरोनाभाइरसको नियन्त्रण र रोकथाम गर्न प्रभावकारी भूमिका खेलेको सरकारी अधिकारीहरूले दाबी गरेका छन्। लकडाउनले नागरिकहरूको दैनिक जीवनलाई कष्टकर बनाएको भए पनि यो अति आवश्यक भएको उनीहरूको तर्क छ।

चैत ११ गतेदेखि लगाइएको लकडाउन १० दिनका लागि थप्ने मन्त्रिपरिषद्को आइतवारको बैठकले निर्णय गरेको छ। यो नेपालमा लकडाउन थपिएको चौथो पटक हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, लकडाउनले सङ्क्रमणलाई विस्तार हुन दिएन। ट्रेसिङ गर्न, परीक्षण गर्न अनि अस्पतालहरूमा उपचारका लागि प्रबन्ध मिलाउन सहज भएको छ।

अहिलेसम्म भएको लकडाउनको अवधिमा के भयो कहाँ के प्रगति भए?

सरकारी राहत लकडाउन घोषणापछि सबैभन्दा बढी प्रश्न उठेको विषय राहत हो। सरकारले चैत १६ गते पहिलो पटक लकडाउन थप गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूका लागि राहतको कार्यक्रम घोषणा गरेको थियो। हालसम्म नौ लाख १३ हजार घरपरिवारलाई राहत वितरण गरिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

हालसम्म ३६३ वटा स्थानीय तहले राहत वितरण गरेका विवरण आएका छन्। राहतअन्तर्गत चामल, दाल, तेल, नुन र तरकारीको वितरण पर्छ। केही स्थानीय तहले स्थानीय उत्पादनहरू मकै, कोदो र फापर वितरण गरेको मन्त्रालयको स्थानीय तहमा राहत वितरणको संयोजन गरेका उपसचिव ऋषिराज उपाध्यायले बताए।

बिबिसि