काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बिच पनि रगतको अभाव हुन नदिन काठमाडौँको पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

तारामण्डल महिला सशक्तीकरण अभियान र राप्रपाको गैर सरकारी संस्था समन्वय विभागले संयुक्त आयोजना तथा ब्लड डोनर्स नेपालको सहयोगमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

बानेश्वरको ऊँ साई पार्टी प्यालेसमा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना आउन सक्ने बताएका छन् ।

उनले यस्तो अवस्थामा राप्रपाको समन्वय विभाग तथा महिला अभियानले लकडाउनको मान्यतामा रही रक्तदान जस्तो पवित्र कार्य गरेकोमा प्रसन्नता व्यक्त गरेका छन् ।

कार्यक्रममा राप्रपाका युवा नेता मोहन श्रेष्ठ, कुन्ती देवी पोखरेल, युवा सङ्गठनका कोषाध्यक्ष गुणराज राजभण्डारी, केन्द्रीय सदस्य सचिन लामिछाने, नेपाली काँग्रेसका महासमिति सदस्य सुरज लामिछाने, काठमाडौँ महानगरको न्याय समिति सदस्य सरोज ढकाल, कल्पना योगी, लक्ष्मण जोशी काडमाडौं महानगरपालिका वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ, सदस्य सिर्जना भेटवाल, श्रीराम राई, टेकराज अधिकारी, रचना सुमन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा ६६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा राप्रपा विभागीय प्रमुख कुन्ती पोखरेलले जानकारी दिएकी छिन् ।