औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै

झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बिक्रीको व्यवस्था पहिलोपल्ट मिलाएको हो । त्यसपछि मेचीनगरमा उद्योग वाणिज्य सङ्घले घरघरै सुपथ मूल्यमा तरकारी पुर्याउन थालिसकेको छ ।
मेचीनगर नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्तलगायतलाई सरकारबाट दिइने मासिक भत्तासमेत घरमै पु¥याउने संयन्त्र बनाएको छ । एकल महिला, लोपोन्मुख र दलित वालवालिकालाई समेत अब घरमै भत्ता आइपुग्नेछ । नगरपालिकाकाले सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याउन वडा अध्यक्षको नेतृत्वमा १५ वटै वडामा कर्मचारी खटाइसकेको मेचीनगर(६ का वडाध्यक्ष ललित तामाङले बताए।
बन्दाबन्दीमा बैंकमा सामाजिक भत्ता लिन ज्येष्ठ नागरिक भीड हुन थालेपछि कोराना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगाउन घरघरमै भत्ता पुर्याउने व्यवस्था मिलाइएको नगरकी उप्रमुख मीना उप्रेतीले बताए । मेचीनगरमा मङ्सिरदेखि फागुनसम्म चार महिनाको सामाजिक सुरक्षा भत्तावापत १३ हजार ३८५ जनालाई १४ करोड ६ लाख ३३ हजार २०० रुपैयाँ सामाजिक सुरक्षा भत्तावापत वितरण गरिने नगरपालिकाका सूचना अधिकारी एवं लेखा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।
विर्तामोड नगरपालिकाले किसानलाई अनुदान दिएको कृषि फार्मबाट ताजा तरकारी किन्ने र गाडीको व्यवस्था गरेर नगरको टोलटोलमा पुर्याउने व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिए । त्यसकार्यमा वडाका जनप्रतिनिधिले प्रत्यक्षरूपमा समन्वय गरिरहेको र कृषि शाखाले सम्पूर्ण व्यवस्थापनको काम गरिरहेको उनले बताए ।
मेचीनगर नगरपालिकाले मिर्गौला, मुटु, दमजस्ता रोगको घरै बसेर नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई आवश्यक औषधि घरमै पुर्याउने अभियान सञ्चालन गरेको जनाएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीलाई वडापिच्छे सो कार्यका लागि जिम्मेवारी तोकिएको सामुदायिक शाखाका अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
.
प्रतिक्रिया दिनुहोस्