कोरोना : जसले सर्वसाधारण जनताको रोजी रोटी खोस्यो

काठमाडौँ । कोरोना भाइरस अर्थात् कोभिड–१९ । जसबाट अहिले सारा विश्व नै नराम्रोसँग थलिएको छ । यसले विश्वलाई आफ्नो पकडमा राखेको अवस्था छ । यसलाई परास्त गर्न प्रयासहरू नभएका होइनन् भएका छन् तर ती सबै प्रयासहरू विफल भएका छन् । भाइरस पत्ता लागेको करिब ५ महिना बितिसक्दा पनि यसको निदानका लागि कुनै पनि देशले अहिलेसम्म औषधि आविष्कार गर्न सकिरहेका छैनन् । एक किसिमले यो भाइरस होइन जस्तो भान हुँदैछ । भाइरसको त उचित समयमा निदान गर्न सकिन्छ । त्यसको औषधि पत्ता लगाउन सकिन्छ । यो त मानव जातिको अस्तित्व नै समाप्त पार्ने हेतुले आएको महामारी हो जस्तो लाग्दै छ ।
शक्ति र पुँजीका हिसाबले विश्वमा परिचित देशहरू नै यसको मारमा परिरहेका छन् । यसबाट के प्रस्ट हुन्छ भने कुनै पनि महामारी र शक्तिशाली भाइरसका अघि शक्ति र पुँजीको केही लाग्ने रहेनछ । त्यसलाई कसरी परिचालन गर्न सकियो त्यो नै सबैभन्दा महत्त्वको विषय हो । जब मान्छे यस्तै समस्याहरूबाट नराम्रोसँग थलिन्छ तब उसका लागि यी सबै व्यर्थ साबित भैदिन्छन् । यस अर्थमा समस्या भन्दा ठुलो हामीले आर्जन गरेको सम्पत्ति हैन रहेछ, सुख हैन रहेछ । यो शाश्वत सत्य हो । संसारमा पैसाकै पछाडि कुद्नेहरु त्यति दिगो हुँदैनन् । यसको आयु क्षणभरमा समाप्त भएर जान्छ । त्यसैले यो क्षणिक रुपमा रमाउने एउटा माध्यम मात्र हो । पैसा सब थोक थियो भने आज मान्छेहरूले यसको औषधि करोडौँमा किन्न सक्थे तर त्यसो होइन रहेछ । हिजो पैसाका पछि कुदनेहरुलाई यस भाइरसले सकारात्मक सन्देश प्रवाह गरेको हुनुपर्छ । त्यसो होइन भने हामी आज, अहिले पनि पैसा आउने ठाउँ र लगानी गर्ने ठाउँको खोजीमा हुने थियौँ ।
यस्तो महामारीका बेला गरिब किसानका लागि बरु पैसा सब थोक बन्दो रहेछ । सब थोक यस अर्थमा कि यो समयमा जताततै अभावै अभाव मात्रै हुँदो रहेछ । उसै पनि अभावै अभावमा बाँचिरहेका सर्वसाधारणका लागि यस्ता महामारी र रोगहरू झनै नयाँ रूप लिएर आउँदा रहेछन् । भलै यसले सबैलाई चिन्न सक्यो । यसले कुनै देशका राष्ट्रपति भनेको छैन, कुनै देशका प्रधानमन्त्री भनेको छैन । सबैलाई समान व्यवहार गरेको छ । अहिलेसम्म जति पनि भाइरस र महामारी आए त्यसबाट पीडित खाली सर्वसाधारण मात्र हुन्थे । यति बेला पनि पीडित सर्वसाधारण नै छन् ।
नेपालका लागि जहिले पनि जहाँ पनि पीडाको भुमरीमा सर्वसाधारणकै वर्चस्व हुने गर्छ । कुनै न कुनै रूपमा सर्वसाधारण जनताका लागि समस्याका चाङ भरिएकै हुन्छन् । कोरोना भाइरसका कारण यति बेला देश ‘लकडाउन’ मा छ । अत्यावश्यक सेवा बाहेकका सबै उद्योग, कलकारखाना ठप्प छन् । जसमा देशका अधिकांश सर्वसाधारणहरू कार्यरत थिए । कुनै पनि अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह गरेको थाहा पाइएको खण्डमा सरकारको आदेशको पालना गर्नुपर्ने आदेश जाहेर गरिएको छ । आदेश उल्लघंन गरे आफैँलाई हानी, उल्लघंन नगर्दा तिनको रोजीरोटी आउने बाटो बन्द भयो ।
सरकारले वितरण गरेको राहतमा तिनका समस्याले ठाउँ पाएनन् । सरकारको नजरमा तिनको खाली पेट भरी देखियो, नाङ्गो खुट्टामा महँगा कम्पनीका जुत्ता देखिए, कोशौ हिँडेरै घर पुग्न पैदल यात्रा तय गरेका तिनका लागि सरकारका मान्छेहरू चढ्ने महँगा गाडीहरू काम लागेनन् । जे गरे मनकारी र मानवरूपी मन भएका मान्छेहरुले सेवा गरे । तिनलाई ठाउँमा पुर्याइदिए । जसले यस प्रतिकूल अवस्थामा पनि सर्वसाधारण जनताको समस्यालाई समाधान गरिदिए उनीहरू धन्यवादका पात्र अवश्य छन् । तिनले बनाइदिएको सरकारले तिनकै पीडा नसुन्नु विडम्बनाको विषय हो । यो आलोचना गरेको होइन जे छ त्यही प्रस्टै बोलेको हो । नराम्रो नसोचिदिनुहोला ।
अहिले नेपालीहरूको अवस्था ज्यादै दयनीय बनेको छ । देशभित्रै होस या देशबाहिर होस जहाँ जहाँ नेपालीहरू कार्यरत छन् त्यहाँ समस्या नभएका नेपालीहरू सायदै होलान् । कतिको रोजगारी गुमिसकेको छ, कतिको देशबाहिर यो भाइरसको कारण मृत्यु भैसकेको छ । कति आक्रान्त छन् नेपालीहरू । अरू देशले विदेशमा रहेका सर्वसाधारणहरूलाई स्वदेश फिर्ता गरिसकेका छन् । तर हाम्रा सर्वसाधारणहरू कोही विदेशमा अलपत्र छन्, कोही खाडी मुलुकमा अलपत्र छन्, कोही भारतमा अलपत्र छन् त कोही नेपालभित्रै अलपत्र छन् । कोही यति बेलासम्म पनि आफ्नो घर पुग्नका लागि खाली खुट्टा हिँडदै होलान्, कोही भोको पेटमै निन्याउरो अनुहार लगाउँदै हिँडिरहेका होलान् । तिनका समस्या बुझ्ने भाका खाएकाहरू आज बन्द कोठाभित्र बसिरहेका छन् । को कता छन् थाहै छैन ।
भारतमा रहेका नेपालीहरूका लागि खाद्यान्नको अभाव छ । बस्नका लागि त्यहाँ त्यति सुरक्षित ठाउँ छैनन् । त्यहाँ कोरोना भाइरसले विकराल रूप लिन थालिसकेको छ । यस्तो विषम परिस्थितिमा पनि आफ्नो देशको सरकारले आफूहरूलाई बेवास्ता गरेकोमा उनीहरू ज्यादै निसास्सिएका छन् । उनीहरू नेपाल नै आउन चाँहदैनन् उतै खाद्यान्नको अभाव टारिदिए उनीहरू उतै बस्न चाहन्छन् । अहिलेसम्म कमाएको पैसा सबै खाद्यान्नमा नै सकिसक्यो अब उप्रान्त भोकमरी बाहेक अर्को विकल्प छैन । काम गर्न सकिन्थ्यो तर काम गर्न त्यहाँको सरकारले दिँदैन काम नगर्दा तिनको बिजोग नै भएको छ ।
नेपालभित्रैका सर्वसाधारण जनताका समस्या पनि यिनै हुन् । बन्दाबन्दीले गर्दा कतिको रोजीरोटी नै खोसिएको छ । जसको दैनिकी सधैँ अर्काकै काममा बित्थ्यो । जो एक दिन काम नगर्दा भोक भोकै बस्न बाध्य हुन्थे तिनको त झन् हरिबिजोग नै भएको छ ।
मैले सानो हुँदा कतै किताबमा पढेको थिँए ‘नगरी काम पुग्दैन खाना साँझ र बिहान’ । त्यति बेला मलाई कविताको यो श्लोक सत्यजस्तो लाग्दैनथ्यो तर आज आएर जब म यी सर्वसाधारण जनताको पीडा देख्छु अनि यो श्लोक मलाई सत्य लाग्छ ।
सरकारले सवारी साधन ठप्प पारेपछि उनीहरूको केही सिप लागेन । केही दिन उनीहरूले सरकारको निर्णय पालना गरे पनि । तर जब आफूसँग भएको सबै खाद्यान्न सकियो तब उनीहरू खाली झोला र चप्पल लिएर पैदल यात्रामा निस्किए । उनीहरूलाई आफ्नो घरसम्मको अनुमानित दुरी थाहा नभए पनि आफ्नो घरसम्म कसो नपुगिएला भनेर उनीहरू यात्रामा हिँडे । यात्रामा हिँडेकाहरू कोही घरसम्म पुगे या पुगेनन् त्यो थाहा भएन तर बिच बाटोमै भोक भोकै अलपत्र परेका समाचारहरू देख्न, हेर्न र सुन्न पाइयो । कोही यात्रामा खाली खुट्टै देखिन्थे, कोही गर्भवती भएर पनि घरसम्मको यात्रामा हिँडिरहेका थिए । जेजस्तो भए पनि आफ्नो घरमा गएपछि सुरक्षित भइन्छ र यसरी भोक भोकै बस्नुपर्ने अवस्था आउँदैन भनेर उनीहरू आफ्नै घरतिरको यात्रामा निस्किए । अझै कोही यात्रामै होलान्, कोही भोकै होलान् त कोही खाली खुट्टै यात्रा गर्दै होलान् ।
यसरी यो भाइरसले सर्वसाधारणलाई औधी सास्ती दिएको छ । कतिको दैनिक गर्दै आएको काम छुट्यो, कतिको खाने खाद्यान्न सकियो, कतिका सपनामा धक्का लाग्यो । कतिका लागि यो भाइरस दैवी प्रकोपका रूपमा रहयो । जे जस्तो भए पनि तिनै सर्वसाधारणको रोजीरोटी खोसियो । ठुलाबडाहरु त आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका होलान् । तिनलाई कसैको समस्या थाहा छैन होला सायद । यिनको भर पर्ने हो भने त झनै सर्वसाधारणहरू भोकमरीको चपेटामा पर्ने काम मात्र हुन्छ । त्यसैले जसले यात्रा पुरा गरे उनीहरू सुरक्षित रहुन्, जो अझै यात्रामा नै छन् तिनको यात्रा सफल होस, जसका खुट्टामा जुत्ता त परको कुरा चप्पल पनि छैनन् तिनका खुट्टामा घाउ नहुन, काँडा नबिझुन् । जता हुनुहुन्छ खुसीका साथ घर पुग्नुहोला । यात्रा सफल रहोस् । शुभकामना ।
प्रतिक्रिया दिनुहोस्