काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

सरकारले ८ बैशाखमा जारी गरेका २ वटा अध्यादेशबारे पार्टीका सबै सांसदलाई जानकारी दिने उद्देश्यले सबै सांसदहरुसँग छलफल भइरहेको परराष्ट्र मन्त्री एवं स्थायी कमिटीका सदस्य प्रदीप ज्ञावलीले बताएका छन । उनका अनुसार पार्टी स्थापना दिवसका अवसरमा आगामी कार्यभार एवं कोरोना भाइरसविरुद्धको अभियानका सन्दर्भमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग ओली र प्रचण्डले छलफल गर्दै छन् ।

जारी अध्यादेश, पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार एवं कोरोनाविरुद्ध अभियानका सन्दर्भमा सांसदहरूसँग समूहगत छलफल गर्ने सिलसिलामा सुदूर पश्चिम प्रदेशका माननीय सांसदहरूसँग पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यू र अध्यक्ष कमरेड प्रचण्ड । उनले सामाजिक संजाल ट्विटरमा उल्लेख गरेका छन् ।

बिहान ११ बजेबाट सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको एक सुदूरपश्चिमका सांसदले बताए । सुदूरपश्चिम प्रदेश पछि प्रदेश १ सँग कुराकानी गर्ने बताइएको छ ।

गण्डकी प्रदेशका सांसदलाई ३ बजे बालुवाटार बोलाएएको छ । त्यस्तै कर्णाली प्रदेशका सांसदलाई ५ बजे बोलाइएको छ । प्रदेश नं २ का सांसदसँगको छलफल भने आजलाई सरेको जानकारी आएको एक सांसदले बताएका छन ।