भारतमा कोरोना भाइरस रोकथामका लागि लगाएको लकडाउन केही खुकुलो पारेको छ।

कृषि व्यवसाय, खेतीपाती र माछा पालनमा लगाइएका प्रतिबन्धहरु खुकुलो हुनेछ। बाली काट्ने र दैनिक मजदुरी क्षेत्रहरूमा काम गर्नेहरुलाई पुनः काममा लाग्न सरकारले अनुमति दिएको छ।त्यस्तै दैनिक ज्यालादारी गर्ने हजारौं मानिसहरूको आयको श्रोत मानिएको सडक र पानीको लाइन निर्माण जस्ता महत्वपूर्ण सार्वजनिक काम सामाजिक दूरी अन्तरगत रहेर काम गर्नेगरी अनुमति दिइएको छ।

बैंक, एटीएम, अस्पताल, क्लिनिक, फार्मेसी र सरकारी कार्यालय खुला रहनेछन् भने प्लम्बर, इलेक्ट्रीसियनहर सिकर्मीहरूलाई समेत काम गर्ने अनुमति दिएको छ।

तर सबै व्यवसाय र सेवाहरू पुनः खोल्दा भने सामाजिक दूरीको मापदण्डमा रहनुपर्नेछ। यी बाहेक अन्य कामका लागि अनुमति दिइएको छैन।

हटस्पट घोषणा नगरिएका ती केहि सार्वजनिक र निजी क्षेत्रहरु खोल्ने अनुमति पनि भारत सरकारले दिएको छ।

हटस्पट तोकिएका क्षेत्रमा भने कुनै पनि प्रतिबन्धहरु खुकुलो नपार्ने भारतीय सरकारले स्पष्ट पारेको छ।