कोरोना भाइरस : एक किरियापुत्री जसले नेपाल आउन के के गर्नुपर्यो (उनकै शब्दमा)
काठमाडौँ । घरमा बुवा वा आमाको निधन भएको खबर पाएपछि निकै टाढा रहेका छोराछोरी पनि अनेक उपाय गरेर घर फर्कने गरेको देखिन्छ । तर दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्ट जिल्लाको सिमाना जोडिएको भारतीय क्षेत्रमा भएर पनि आमा बिरामी भएदेखि मृत्यु हुँदासम्मको खबर पाएर पनि दागबत्ती दिन आउन पाएनन्।
विश्वव्यापी फैलिएको कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न दुवै देशमा गरिएको लकडाउनका कारण उनलाई नेपाल प्रवेश गर्न दिइएको थिएन।
छ दिनसम्म भारतमै आमाको १३ दिने काजकिरिया गरी बसेका उनी आइतवार चाहिँ दुवै देशको केन्द्रीय स्तरको निर्णयपछि घर पुगेका छन्।
वासुदेव भट्टको भनाइको सम्पादित अंश
यति दिन बसेपछि बल्ल घर जान पाएँ। म अभागी रहेछु, आमालाई दागबत्ती पनि दिन पाइनँ। भारतको एउटा कुनामा बस्नुपर्यो। आमाको मृत्युको खबरपछि घर जान मैले पहल गरेकै हुँ। अस्पतालमै आमाको मृत्यु भयो। त्यहाँबाट परिवारका सदस्यले घर लगे। मलाई भाइले फोन गरेर दाजु अब के कसो गर्ने भनेर सोधे।
महाकालीमा हामफालेर देश भित्रिएका नेपाली ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’ म यहाँ पहल गर्छु, मलाई छाडे भने म बिहानसम्म पुग्छु। तर मलाई जान दिइएन। मैले फेरि पनि पहल गरेँ।
एक सय नम्बरमा गुनासो पनि गरेँ। जहाँसम्म हुन्छ हामी पहल गर्छौँ भनेर प्रहरीले भने। हाम्रो हातमा भए हामीले खोलिदिन्थ्यौँ भन्ने उनीहरूले जवाफ दिए।
यो अन्तर्राष्ट्रिय विषय हो। यसबारे दुई देशले भन्नुपर्यो। मन्त्रालयले पत्र पाउनुपर्यो। अनि बल्ल हुन्छ भनेर सीमा प्रहरीले भने। छिमेकीहरू नेपाली थिए। बैतडी, बझाङतिरका साथीहरू थिए। उनीहरूले काजकिरियाका लागि व्यवस्था मिलाइदिए। भारतीय साथीहरू पनि थिए। उनीहरूले मेरो लागि अलग्गै कोठाको व्यवस्था गरिदिए।
म भारत गएको डेढ महिना जति भएको थियो। फर्कने बेला मसँग एक पैसा पनि थिएन। सबैले मलाई सहयोग गरे। दाजुभाइहरूले सहयोग गरेर पाएको साढे ९ हजार रुपैयाँले काम चलाइरहेको थिएँ।
कोरोनाभाइरस प्रकोपको त्रास चुलिँदा उठेका प्रश्नहरू
सीमा कटेपछि नगरबाट मलाई लिन एम्बुलेन्स आएको थियो। चालकले सात हजार पर्ने हिसाब निकाले जसअनुसार आधा पैसा नगरले बेहोर्ने र बाँकी मैले तिर्नुपर्ने उनले भने।
मैले मसँग पैसा नै छैन भनेँ। अनि एम्बुलेन्सबाटै म गए। कच्ची बाटोका कारण बैतडीको छोला भन्ने ठाउँबाट आधा घण्टा जति हिँडेर जानुपर्यो।
आफ्नो धर्ती टेक्न पाएपछि त खुशी नै लाग्यो नि। म बसेको ठाउँमा ३६८ जना नेपाली छन्। त्यो ठाउँ भनेको भारतको बालुवाकोट हो।
क्वारन्टीनमा खाने र बस्ने व्यवस्था भारतीय पक्षले नै गरेको छ। भारतको धार्चुलामा पर्ने बालुवाकोटस्थित राजकीय इन्टर कलेजमा बनाइएको क्वारन्टीनमा हामी बसिरहेका थियौँ।
त्यहाँ खानाको व्यवस्था ठीकै थियो। दालभात खान दिन्छन्। दिउँसो दालभात र तरकारी हुन्छ, अनि बेलुका दालभात हुन्छ।
त्यहाँ बसिरहेका नेपालीहरूलाई पैसाको निकै खाँचो छ। हामी सडकमा काम गथ्र्यौँ। ठेकेदारले पैसा पनि दिएका छैनन्। । कहिले फर्कने भन्ने सबैलाई छ ।
बिबिसि




प्रतिक्रिया दिनुहोस्