एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई फेरी आरोप लगाएका छन । कोरोना भाइरसको संक्रमण फैलिए यता लामो समयदेखि उनले चीनलाई आरोप लगाउदै आएका छन ।

ह्वाइट हाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा सुरु हुनुभन्दा अघि नै रोक्न सकिने भए पनि त्यसो नगरेका कारण अहिले संसारभरि यसको सामना गर्नुपरेको बताए ।

चीनको वुहानबाट गत डिसेम्बरमा कोरोना भाइरसको संक्रमण सुरु भएर हालसम्म विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको मृत्यु भइसकोको छ । के यसको नतिजा चीनले भोग्नुपर्छ ? भनेर सोधिएको थियो ।

जवाफमा ट्रम्पले भने, ‘यदि उनीहरूले जानी बुझीकन केही गरेको भए, त्यसको नतिजा चीनले भोग्नुपर्छ । यदि भुलवश रहेछ भने भुल त भुल नै हुन्छ ।’

ट्रम्पले भने, ‘चीन कहीँ चुक्यो र नियन्त्रण गर्न नपाएको हो या जानी बुझीकन गरेको हो । यी दुईमा धेरै फरक पर्छ । उनीहरू यसको जाँच गरिरहेका छन् । हामी त्यसको पर्खाइमा छौँ र हामी आफैँ पनि जाँच गरिरहेका छौँ ।’

पत्रकारमाथि आक्रोश

पत्रकार सम्मेलनका क्रममा ट्रम्पले एकपटक फेरि पत्रकारलाई निशाना बनाएका छन् । यसपटक उनले न्यूयोर्क टाइम्सका रिपोर्टर म्यागी हैबमनलाई निशाना बनाए ।

उनले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मेडोस रोएको रिपोर्ट छापेका थिए । यही रिपोर्टलाई लिएर उनी भड्किएका हुन् ।पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘मैले पनि मार्क मेडोस रोएको रिपोर्ट पढेँ । यी त्यही म्यागी हैबमन हुन्, जसले रुसको स्टोरीका लागि पुलित्जर पुरस्कार पाएका थिए । उनी रुसबारे गलत थिए र उनले त्यो पुरस्कार फिर्ता गर्नुपर्छ ।’

सन् २०१८ मा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारेमा रिपोर्ट बनाएबापत न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टका पत्रकारलाई पुलित्जर पुरस्कार दिइएको थियो ।

ट्रम्पले भने, ‘म्यागी हैबमन थर्ड–रेट रिपोर्टर हुन् । हामीले यी कस्ता रिपोर्टर हुन् भन्ने भनिसक्यौँ । त्यसैले उनले मार्क मेडोस रोएको स्टोरी बनाएका थिए । न्यूयोर्क टाइम्स धेरै बेइमान पत्रिका हो । मलाई यस्तै लाग्छ । यो मेरो अनुमान नभएर सत्य हो ।’