किर्तिपुरमा राहत लिनेको भिड(फोटोफिचर)

काठमाडौँ । शुक्रवार काठमाडौँको कीर्तिपुरमा राजधानीमा बसेर अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई नेको इन्सुरेन्सको प्रायोजनमा राहत वितरण गरिँदै थियो । जसमा त्रिभुवन विश्वविद्यालय बाहिर अध्ययन गर्ने विद्यार्थीहरूलाई राहतका लागि आह्वान गरिएको थियो । करिब ५०० जनाका लागि राहतको व्यवस्था गरिएको थियो तर त्यहाँ अत्यधिक मात्रामा उपस्थित थिए विद्यार्थीहरू । हातमा खाली चामलको बोरा लिएर यो टन्टलापुर घाममा लामबद्ध थिए उनीहरू ।

राहत पाइने हो होइन कुनै अत्तोपत्तो छैन तर कतै राहत वितरण हुन्छ भन्ने सूचना पाउनासाथ हातमा खाली बोरा लिएर दौडिन्छन् उनीहरू । भलै राहत हात पर्ला । बरु खाद्यान्न नहुँदाको भोक मेटिएको छ तर राहत पाउने भोक अझै मेटिएको छैन । केही पाउने आशामा भौतारिदै हिडिरहेछन । त्यहाँ जाँदा कसैको हातमा खाली बोरा, कसैको हातमा खाली झोला देखिन्थे । राहत कसले वितरण गर्दैछ थाहा छैन, कति जनालाई गर्दैछ थाहा छैन तर राहत त हो जसलाई भए पनि जति जनालाई भए पनि पाइहाल्ला नि भनेर यसरी उनीहरू ठाउँ ठाउँमा पुग्ने गर्छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय भवनमा राहत वितरण गरिदै थियो । राहतका लागि भवन बाहिर विद्यार्थीहरुको लस्कर थियो । दुइ/तीन लाइनमा खचाखच विद्यार्थीहरु थिए । कोरोना भाइरसको महामारीबाट बच्ने एउटा काइदाको उपाय भनेको सामाजिक दुरी कायम राख्नु हो । तर त्यहाँ त्यस्तो अवश्य थिएन । लाइनमा ठेलमठेल थियो । भित्र भने राहत धमाधाम वितरण भैरहेको थियो तर जसका लागि राहतको व्यवस्था गरिएको थियो उनीहरु लाइनमै थिए । यसरी पालो पर्खिने हो भने त उनीहरुको पालो आउन २ दिन लाग्ने जस्तो देखिन्थ्यो । भित्र सबैलाई पस्न दिइएको थिइएन । कोही ब्राण्डबाट नै हाम फालेर भित्र पसे भने कोही पावर र शक्तिका भरमा भित्र प्रवेश गर्दै थिए । एकैजनाले दुइ÷तीन जनाको राहत लिएर फर्किएको पनि देखियो । प्रतिव्यक्ति १० केजी चामल, १÷१ केजी प्याज, आलु, दाल र एक प्याकेट तेल राहतका रुपमा उपलब्ध थिए ।

राहत वितरण त्यति पारदर्शी तरिकाले भएको पक्कै थिएन । बाहिर भीड अनियन्त्रित अवस्थामा थियो भने भित्र राहत वितरकहरु त्यति हतारमा थिएनन । केही समय यस विषयमा झडपको माहोल पनि बन्यो तर राहतका लागि गएका विद्यार्थीहरु यो गर्न अवश्य चाहँदैनथे । उनीहरु त जतिसक्यो राहतको अनुभूति गर्न चाहन्थे । कतिपयले राहतका लागि नगरपालिकामा आवेदन दिएका थिए तर नगरपालिकाले राहत दिने छाँटकाँट नदेखिएपछि उनीहरु पनि आइडी कार्डका साथ लाइनमै थिए । राहत दिदा आफू अध्ययनरत विद्यालयको परिचय पत्र(आइडी कार्ड) अनिवार्य गरिएको थियो । कतिजना आइडी कार्ड नभएर रित्तै घर फर्किए भने कतिपय एउटैको आइडी कार्डमा राहत लिदै थिए ।

राहत वितरणमा व्यवस्थापन पक्षको कमजोरी देखिन्थ्यो । वास्तविक पीडितले राहत पाएनौ भनेर बाहिर आवाज उठिरहेको थियो तर त्यो आवाज सुन्न चाहादैनथे उनीहरु । ‘हामी आजको यो स्टक जतिजनालाई पुग्छ वितरण गर्छौ । आज नपुगेकाहरुलाई अर्को दिन वितरण गर्छौ’ – व्यवस्थापन पक्षका एकजनाले भने । उनीहरु सबैलाई राहत बाँडने भन्दै आश्वासन दिनमा मात्र व्यस्त थिए ।

यसरी राहत वितरण गरिरहँदा वास्तविक पीडित ओझेलमा पर्ने गरेका छन । राहत वितरण गर्दा पीडितको वास्वविक स्थिति बुझेर, राहतको आवश्यक्ता छ या छैन सबै पहिचान गरेर मात्र राहत वितरण गर्दा मात्रै वास्तविक पीडितले राहतको अनुभूति गर्नेछन । होइन भने राहत वितरण सस्तो लोकप्रियता कमाउने माध्यम र व्यर्थको मञ्चन मात्र हुनेछ ।
प्रतिक्रिया दिनुहोस्