काठमाडौँ । लकडाउनको फाइदा उठाउँदै तरकारी जन्य वस्तुहरूमा कालोबजारी गर्नेहरूको सङ्ख्या चुलिदैं गएको छ ।

सर्वसाधारणको भान्सामा दैनिक प्रयोग हुने तरकारीको मूल्य आकासिए पछि उनीहरूको भान्सा महँगिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी प्रकोपबाट बाँच्न सरकारले घोषणा गरेको लकडाउनको फाइदा उठाउँदै, व्यापारीहरूले एकाएक तरकारी जन्य वस्तुहरूको भाउ बढाएका हुन् ।

२०७७ वैशाख ५ गते कालीमाटी फलफूल तथा तरकारी बजारको बजार मूल्य हेर्दा गोलभेडाको प्रति के.जी न्यूनतम मूल्य ३०, अधिकतम ३५ र औषधमा ३३ रुपैयाँ रहेको छ । भारतीय प्याजको न्यूनतम मूल्य ३६, अधिकतम ३९ र औषधमा ३८ रुपैयाँ रहेको छ । भने बन्दाको न्यूनतम मूल्य २०, अधिकतम २५ र औषधमा २२ रुपैयाँ रहेको छ ।

त्यसै गरी काउलीको मूल्य न्यूनतम १५, अधिकतम २० र औषधमा १८ रुपैयाँ रहेको छ भने नेपाली लसुनको न्यूनतम मूल्य २९०, अधिकतम ३०० र र औषधमा २९५ रहेको छ त्यसै गरी चाइनिज लसुनको न्यूनतम मूल्य ३९० अधिकतम ४०० र औषधमा ३९५ रहेको कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्याकले देखाएको छ ।

नेपाल तरकारी तथा फलफूल व्यवसायी महांसघका अध्यक्ष खोमप्रसाद घिमिरेले कालीमाटीको मूल्य भन्दा बाहिर अत्यधिक मूल्य बुद्धिमा तरकारी बिक्री भइरहेको प्रति आपत्ति जनाएका छन् ।

लकडाउनमा स्याउ र लसुन बाहेक सबैको मूल्य घट्यो, किसान मर्कामा

लकडाउनमा स्याउ र लसुन बाहेक सबै तरकारी मूल्य सस्तो रहेको घिमिरेले जानकारी दिएका छन् । अहिले नेपालकै किसानले पर्याप्त मात्रामा तरकारी उत्पादन गर्दा अन्य देशबाट खासै तरकारी ल्याउन नपरेको घिमिरेले बताए । उनले भने ‘अहिले लकडाउनको बेलामा व्यापारीहरूले मौकामा चौका छोपेर तेब्बर मूल्य बढाएर तरकारी तथा फलफूल बेचिरहेका छन् । तर तरकारी बजारमा र किसानको खेतबारीमा तरकारी नबिकेर किसानले त्यतिकै तरकारी कुहिएर फालिरहेका छन् नेपालमै भएको तरकारीलाई सदुपयोग गर्ने हो भने अन्य देशबाट तरकारी ल्याउनु पर्दैन ।’

नुवाकोटको खेती किसानी गर्ने राधा अधिकारीले भनिन ‘हामीले ३ लाख लगानी गरेर तरकारी लगायौँ तर आज तरकारी नबिकेर बारी मै कुहिरहेको छ’ । उनले काँक्रो, सिमी र बोडी लगाएकी छिन तर आज त्यो तरकारी ५ रुपैयाँ किलोमा पनि बेच्न पाएकी छैनन् । सरकारले पछिल्लो समय लकडाउन थपेपछि उनको तरकारी २ रुपौया किलोमा पनि कसैले नलगेको उनले सुनाइन । उनले भनिन् ‘पहिलो चोटि लकडाउन हुँदा त ५ रुपैयाँ किलोसम्म काँक्रो र सिमी बेचेका थियौ तर पछिल्लो चोटि लकडाउन भएपछि त २ रुपैयाँ किलोमा पनि कसैले लैजाँदैन । ऋण गरेर लगाएको लगानी सबै डुब्ने भयो’ ।

भारतबाट तरकारी नल्याउन आग्रह

भारतबाट तरकारी नल्याउन महांसघले आग्रह गरेको छ । कोरोनाको महामारी बढेसँगै अन्य देशबाट तरकारी तथा फलफूल नल्याउन व्यवसायीलाई महासङ्घले भनेको छ । अन्य देशबाट तरकारी ल्याउँदा तरकारी सँगै कोरोना भाइरस पनि सँगै आउँछ कि भन्ने डरले तरकारी नल्याउन खोजिएको घिमिरेले बताए । हाल इन्डियाबाट प्याज, खुर्सानी, भिन्डि, परबल, कागती जस्ता तरकारी आइरहेको र यस्ता तरकारी आउँदा एकदम धेरै जोखिम रहने घिमिरेको भनाइ छ ।

ललितपुरमा डेलिभरी सर्भिस सुरु

ललितपुर महानगरपालिकामा महानगरका मेयर र वडा अध्यक्षसँग समन्वय गरेर घुम्ती सेवा सुरु गरेको घिमिरेले जनाकारी दिए । ललितपुरको विभिन्न ठाउँ सातदोबाटो, चापागाउँ, सानेपा, लुमु लामाटार, नख्खु जस्ता स्थानमा घरघरमै एकदमै सरल रूपमा ताजा तरकारीहरू पठाइरहेको घिमिरेले जानकारी दिए ।

ललितपुरमा जस्तै काठमाडौँ महानगरपालिकामा पनि महानगरले कुनै व्यापारी सँग समन्वय गरेर नगरवासीको घरघरमा तरकारी पर्याउने गर्दा राम्रो हुने उनले बताए । महानगरले अहिले गरेको ओपन सिस्टम बजार भन्दा होमडेलिभरी गर्दा राम्रो हुने अध्यक्षले बताए ।

महासङ्घले काठमाडौँ महानगरपालिकामा पनि ओपन बजार राख्नु भन्दा घुम्ती सेवा राख्न आग्रह गर्दा महानन गरले वास्ता नगरेको र ललितपुरमा चाहिँ लागु भएको उनले बताए ।

सरकारको अनुगमन गफैमा सीमित

दैनिक उपभोग्य वस्तु तरकारीको भाउ बढ्नाले उपभोक्ताहरू महँगीले ढाड सकेको छ । बजारमा बिक्री भइरहेको खुद्रा पसलमा तरकारी किन्न जाँदा गोलभेडा १२०, काउली ८०, च्याउ २५०, सिमी १००, साग एक मुठ्ठीको ५०,६० रुपैयाँमा बक्रि भइरहेको छ । कति महँगो भएको तरकारी भनेर ग्राहकले प्रश्न गर्न नपाउँदै व्यवसायी भन्छन् ‘यस्तो लकडाउनको बेलामा महँगो हुँदैन त’ । तर बजारमा यसरी व्यवसायीहरूले आफू खुसी भाउ बढाउँदा समेत सम्बन्धित निकायहरू चुपचाप बसिरहेका छन् । वोलीमा बजार अनुगमन गरिने बताउने सरोकारवाला निकायहरू व्यवहारमा भने अनुगमन गर्न निस्किएका छैनन् ।