भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदा तीनदेखि चार साता कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि ‘सङ्कटपूर्ण’ हुने बताएका छन्।

ज्यानुअरी ३० मा भाइरसको पहिलो घटना पुष्टि भएसँगै भारतले यस महामारीसँग जुझ्ने प्रयासमा थुप्रै उपायहरू अवलम्बन गरिसकेको छ।

जाँचका लागि योग्य हुने मापदण्डलाई खुकुलो बनाउनुका साथै सरुवा रोगसँग जुझ्ने १२२ वर्ष पुरानो कानुन लागु गरेर सार्वजनिक जमघट र अन्य विषयमा प्रतिबन्ध लगाएको छ।

एप्रिल १४ मा तीन साता पूरा गरेको लकडाउनलाई पुन: मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको छ।

देशमा जमिन र हवाई सबैखाले सवारीसाधनहरू नचल्दा एक अर्बभन्दा बढी मानिसहरू घरभित्रै बस्न बाध्य छन्।

भारतमा अहिलेसम्म एक लाख ८०,००० जनाको परीक्षण गरिएको छ। तीमध्ये झण्डै ४.३ प्रतिशतमा सङ्क्रमण पाइएको छ। सङ्क्रमणले बुधवारसम्म ३७७ जनाको ज्यान लिइसकेको छ।

विवरणहरूका अनुसार सङ्क्रमण देशको आधाजसो भागका ७०० भन्दा धेरै जिल्लामा फैलिसकेको छ। थुप्रै जोखिमयुक्त क्षेत्र औँल्याइएका छन्।

विश्वभरका स्वास्थ्यविज्ञहरूले अहिले भारत कसरी यस भाइरससँग जुझ्छ भनेर चासोपूर्वक हेरिरहेका छन्।

उच्च जनसङ्ख्या, विशाल भूभाग र कमजोर जनस्वास्थ्य सेवाले त्यहाँ लागु गरिने उत्कृष्ट अभ्यासलाई समेत फिका साबित गर्न सक्छन्।

गम्भीर अवस्था

“धेरैलाई चिन्तित पार्ने कुरा नै त्यही हो,” नाम नखुलाउने सर्तमा एकजना वरिष्ठ सरुवा रोग विशेषज्ञ भन्छन्।

“भाइरस फैलावटको क्रम हेर्दा अझै पनि त्यो सुरुवाती चरणमै रहेको देखिन्छ। अबको तीन-चार सातामा स्पष्ट चित्र आउनेछ।”

ब्रोकिङ्स इन्स्टीट्यूटसँग सम्बद्ध अर्थशास्त्री समिका रवि भाइरसको सङ्क्रमणलाई नजिकबाट नियालिरहेकी छन्। उनी भारतले नराम्रो अवस्थाको सामना गरिरहेको स्वीकार्दिनन्।

उनका अनुसार सक्रिय सङ्क्रमणका घटना हरेक सात दिनमा दोबर भइरहेका छन् जुन दर पहिलेको भन्दा कम हो। मृत्युदर कम भए पनि बढिरहेको भने छ।

उनले भनिन्: “हामीले सङ्कटलाई सक्रिय रूपमा पछ्याइरहँदा हाम्रो [सङ्क्रमणको] वृद्धिदर भने नियन्त्रित छ।”

“हाम्रो सबै जाँचहरू विधि अनुसार छन्। यात्राको इतिहास भएका मानिसहरू खोज्ने र उनीहरूले भेटेका मानिसहरूलाई पछ्याउनेजस्ता काम गरिएका छन्।”

न्यून भर्नादर

तीव्र सङ्क्रमण हुने यस रोगबाट भारतका अस्पतालमा रूघाखोकीजन्य रोग लागेका बिरामीको उच्च भर्नादर नरहेको पाइनुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।

तर यो राम्ररी विवरण सङ्कलन नहुँदाको अवस्था समेत हुनसक्छ।