लकडाउन : मानसिक रोगको मुख्य कारक

काठमाडौं । यतिबेला कोरोना भाइरसको महामारीबाट विश्व नै त्रसित अवस्थामा छ । यो भाइरस त्यस्तो किसिमको भाइरस हो जसको अहिलेसम्म कुनै पनि देशले नियन्त्रणको औषधि आविष्कार गर्न सकेका छैनन् । जसको प्रत्यक्ष प्रभाव समग्र रूपमा विश्वले नै खेपिरहेको छ । एक किसिमले यो भाइरससँग मुकाबिला गर्ने शक्ति विश्वका कुनै पनि देशसँग छैन भने पनि हुन्छ । संसारमा कुनै पनि चिज असम्भव नदेख्ने वैज्ञानिकहरू पनि यसका सामु घुँडा टेक्न बाध्य भएका छन् । वैज्ञानिकहरू यसको अध्ययन, अनुसन्धान गर्न अग्रसर नभएका होइनन् तर पनि उनीहरूको अध्ययनले यसको औषधि तत्कालका लागि आविष्कार नहुनेजस्तै छाँटकाँट देखिएको छ ।
कुनै पनि महामारी, विपत्ति र रोग आफैमा हानिकारक अवश्य होइनन् तिनलाई हानिकारक बनाउने मुख्य जिम्मेवारी हाम्रै हातमा हुने गर्दछ । हामीले उचित समयमा तिनको रोकथामका लागि सजगता अपनाउन सकेनौ भने त्यो नै हाम्रा निम्ति गलपाँसो बन्न सक्छ । त्यसैले कुनै पनि महामारी, विपत्ति र रोगहरू यसरी फैलिनुमा मानव जातिको अहम् भूमिका हुने गर्दछ । सत्य यो पनि हो कि यस्ता महामारीको अन्त्य मानव जातिले नै गर्दछ । त्यो ढिलो चाँडोको कुरा हो । यस अर्थमा मानव समुदाय महामारीको निदान गर्ने सक्षम औषधिको आविष्कारकर्ता हो र महामारी निम्त्याउने मुख्य कारक पनि हो ।
हाल मानव समुदाय कोरोना भाइरसबाट गुज्रिरहेको छ । योसँग सबैले पराजय स्वीकार गरिरहेको अवस्था छ र यसको निदान त्यति सहजै नहुने कुरा पनि लगभग छर्लङ्ग भैसकेको छ । यसबाट बच्ने सहज उपाय एउटै हो–‘सेल्फ क्वारेन्टाइन’ अर्थात् ‘आफ्नै निवास’ । अहिले यो भाइरससँग लड्ने सशक्त माध्यम भनेको यो मात्र हो । यसको विकल्प छैन । विश्वमा शक्तिशाली भनिएका देशहरूले समेत यसका अगाडि घुँडा टेकिसकेको छन् । नेपालमा यसले उग्र रूप लिन थाल्यो भने यसका अगाडि कसैको केही लाग्ने छैन । न हामीसँग स्रोत, साधनको पहुँच छ न त दक्ष जनशक्ति नै । यस्तो अवस्थामा यसले बर्जस्व हुन थाल्यो भने यसका अघि सबैले पराजय स्विकार्नै पर्नेछ । अहिलेसम्म सङ्क्रमण देखिए पनि मृत्यु भने कसैको भएको छैन यो खुसीको कुरा हो । तर खुसी भएर मात्रै यसको निवारण हुने छैन । त्यसका लागि हामीले लकडाउनको राम्रोसँग पालना गर्नुपर्ने देखिन्छ ।
यो लकडाउन भएको लगभग १ महिना जति पुग्नै लाग्यो । यहाँसम्म आइपुग्दा यसले हामीलाई धेरै कुराहरूबाट टाढा बनाइसकेको छ । यस अवधिमा कतिपय व्यक्तिका रोजगारी गुमेका छन् भने कोही भोकमरीमा परिरहेको अवस्था छ । रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरूको त झन् बिजोग नै भएको छ । उनीहरूलाई भोक लागेका बेला न उचित खानाको व्यवस्था छ न आफ्नो देशमा फर्किनु । विदेशमा रहेका नेपालीहरू आक्रान्त छन् । अहिले आत्तिएर पनि हुनेवाला त केही छैन । सीमा, नाका सबै बन्द छन् । आवतजावत ठप्प छ । यो अवस्थामा नेपाल आए पनि करिब १५ दिन जति क्वारेन्टाइनमा बस्नैपर्छ । त्यसैले आफ्नो स्वास्थ्यका लागि पनि अहिलेलाई लकडाउनको पालना गर्नु नै उत्तम उपाय हो ।
यसरी घरभित्र बसिरहँदा हाम्रो स्वास्थ्यमा निकै नकारात्मक असरहरू आइसकेका हुन्छन् । जसले हामीलाई अनावश्यक रोगको शिकार बनाइरहेको छ । त्यति मात्रै होइन लकडाउनले मानसिक रोगको मुखमा समेत पुर्याउन बेर छैन । बन्द कोठाभित्र बसिरहँदा निकै तनावपूर्ण वातावरणमा समय बिताउनै मुस्किल हुन्छ । निकै अल्छी लाग्ने र कुनै पनि काम गर्न मन नलाग्ने हुदोरहेछ । यो गरौँ त्यो गरौँ तर मनै नलाग्ने । अनेक कुरा मनमा खेलिरहने । न निन्द्रा लाग्छ, न खाना मन लाग्छ । खाटमा पल्टियो । यता पल्टियो, उता पल्टियो । शरीर दुखेको दुख्यै छ । यो हातमा मोबाइल र इन्टरनेट नहुँदो हो त हामी यति बेलासम्म मानसिक रोगको बिरामीजस्तै कुनै अस्पतालको शय्यामा ऐया ऐया गर्दै पल्टिरहेका हुन्थ्यौ । धन्न मोबाइल र इन्टरनेट तिमीलाई, कमसेकम तिमीले गर्दा हामी आनन्दका साथ रमाउन त पाएका छौ । बाहिरको वातावरण सुनसान छ भित्र बस्न मनै लाग्दैन । के गर्नु, गर्नु । यो लकडाउन त हाम्रा लागि वरदान होइन अभिशापजस्तै भैसकेको छ । अझै खुल्दैन झनझन बढ्दै छ । हाम्रा लागि यो त मानसिक रोगको मुख्य कारकजस्तो भइसक्यो ।
हामी यस अर्थमा भाग्यमानी हौँ । किनकि हामी विश्वलाई नै चुनौती दिइरहेको यो रोगसँग मज्जाले लड्दै छौ , लडिरहेका छौ र मज्जैले लड्ने नै छौ । संसारमा न सुख टिकाउ छ न त दुख टिकाउ छ । सब बिकाऊ छन् । एक दिन सबको समय आउँछ । हामी सबैका लागि न सुखको महत्त्व धेरै छ न दुख । दुवै बराबरी । यस्तो समयमा आत्तिनुभन्दा धैर्यता आवश्यक हुन्छ । नआत्तिनुहोस् हामी यो कोरोना डाम्नोलाई पराजित गरेरै छाडेनछौ । सबैको जय होस । लकडाउनको पनि जय होस् । सबैको स्वास्थ्यमा कुनै असर नआओस कामना ।
प्रतिक्रिया दिनुहोस्