“महामारीले हैन सरकार, भोकमरीले लाने भयो”

काठमाडौँ । धन, तागत, मान ,पैसा, प्रतिष्ठा केहीसँग नडराउने न त राजा न त प्रजा भेदभाव गर्न बिलकुलै नजान्ने, कसैलाई नछुटाउने कोभिड – १९ नामक यो भाइरस सिङ्गो मानव प्रजातिलाई गिज्याउँदै विश्व परिक्रमा गरिरहेको छ ।
चिन बाट सुरु भएको यो भाइरस आँखा झिमिक्क पार्न नपाउँदै नेपालमा पनि प्रवेश गरिसकेको छ । चीन, इटाली, अमेरिका, जस्ता स्वास्थ्यका हिसाबले पनि नेपाल भन्दा १० औँ गुणा सम्पन्न राष्ट्रलाई समेत आफ्नो अधीनमा पारिसकेको यो भाइरसले नेपालमा पनि महामारीको रूप नलिएला भन्न सकिने अवस्था छैन । तर आशा गरौँ यस्तो परिस्थिति सिर्जना नहोस् । सके सरकारले नभए पनि पाशुपती नाथले हामी सबैको रक्षा गरुन् ।
आजसम्म नेपालमा पनि १६ जना सङ्क्रमित भैसकेका छन्। अरू देशको तुलानामा सङ्क्रमितको सङ्ख्या सानो भए पनि नेपाल कोरोनाको दोस्रो चरणमा पुगिसकेको छ ।
अनेकौँ वस्तुको आवेस्कार गर्दै हामी प्रकृतिलाई चुनौती दिँदै छौँ भन्ने विज्ञानसँग आज कोरोनालाई रोक्न सकिने न औषधि न खोप न त सुरक्षा कवच नै छ । छ त केवल फैलिँदैन कि सर्दैन कि भनेर अपनाउन सकिने १ दर्जन जति सावधानीका उपायहरू । संसार अहिले सिङ्गो चिकित्सा विज्ञान एक तर्फ र प्रकृति अर्को तर्फ भएको अवस्थाबाट गुज्रिरहेको छ ।
यो भयावह अवस्था देशमा नआओस् भनेर नेपाल सरकारले गत चैत ११ गतेदेखि नै लकडाउन घोषणा गरेर यसलाई चरणबद्ध थप्दै आएको छ। लकडाउनलाई उचित रूपमा सफल पार्न सरकारले थुप्रै कदमहरू समेत चालिरहेको छ। यसलाई हामीले सरकारको सही कदम भन्नू पर्छ । यसको लागि सरकारलाई ताली दिनै पर्छ ।
तर प्रश्न कहाँनेर उठ्छ भने ज्याला मजदुरी दैनिकी गरेर दिनचर्या गर्नेहरूको आवस्था के छ त ? सरकारले उनीहरूको लागि पनि व्यवस्था गरेको हो । तर के व्यवस्था सही ढङ्गले भयो त ? अहँ भएन, सरकार सबैकहाँ , सबैलाई र सबै ठाउँमा पुगेन। गाउँ गाउँमा पुगेको सिंहदारावारका सिंहहरू कहाँ चुके ? यसको अनुगमन कसरी भयो त ?
विभिन्न ठाउँमा राहत वितरण भइरहेको देखिन्छ/सुनिन्छ । नगरपालिका हुँदै वडा, वडा हुँदै गरिब जनता सम्म रहात ठाउँ ठाउँमा चारिरहेकै पनि छ । तर अझै पनि यस्ता पीडितहरू छन् जो सरकारको प्रतीक्षामा बसिरहेका छन् । जसको घरमा खाना पकाउने दाउरा र भाडा त छन् तर एक मुठ्ठी चामल छैन। हिजो दिन भरी मजदुरी गरेर पनि एक छाक मात्र खाने गरिब मजदुरहरूको घरमा चुल्हो बल्न छोडेको हप्तौँ भैसकेको छ।
यसो समाचार खोलेर हेर्यो सरकारले यति करोड कोरोना राहत कोषमा जम्मा गर्यो । फलानो संस्थाले यति करोड दियो । अझ प्रधानमन्त्रीले त आफ्नो सबै तलब राहत कोषमा दिए रे । फलानो कर्मचारीको तलब काटियो त्यसको तलब काटियो । तर लाखौँ जनताहरू भोकमरीले छटपटाई रहेका छन् सरकार । जम्मा भएको पैसा सही समयमा खर्च नगरे कहिले गर्न ? अनि आज त्यो सही समय नभए कहिले हो ? ती अर्वौँ पैसाको सानो अंश पनि जनता सम्म पुग्न सकेको छैन। कता कताबाट चीत्कारका आवाजहरू गुन्जिरहेका छन् । हिजो बलुवा चालेर नङ्ग्रा खिएका हातहरूले गालालाई थिचेर आँखाहरू टोलाइरहेका छन् । गरिब जन्ता सरकारको प्रतीक्षामा दिन गन्दै बसिरहेका छन्।
जसरी कोरोना फैलिरहेको छ । जसरी कोरोनाले कसैलाई छोड्दैन त्यसरी नै राहत पनि सबै ठाउँमा फैलियोस्, कोही गरिबलाई नछाडोस् र कोही भोको नरहुन् । हैन भने कोरोनाले लग्ला नलग्ला राहत को प्रतीक्षामा बसिरहेका मजदुरहरूलाई भोकमरीले अवश्य लान्छ।
प्रतिक्रिया दिनुहोस्