लकडाउन वैशाख १५ सम्म लम्बियो

काठमाडौं । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि १२ दिन थपेर १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।
पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५ र तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि थपिएको थियो ।
यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १६ पुगिसकेको छ । नेपालमा पहिलोपटक गत गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।
पहिलो कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् भने अन्य १५ जनाको अहिले उपचार भइरहेको छ । कोरोना संक्रमित १५ जनामध्ये ५ जनाको सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ४ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङस्थित धौलागिरी अस्पताल, २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्