यसकारण टिकटक बन्दैछ लकडाउन सहज बनाइदिने माध्यम

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्व आतङ्कित भइरहेको छ । गत डिसेम्बरमा चीनको वुहान सहरबाट फैलिएको उक्त भाइरस यति बेला विश्वभरि नै महामारीका रूपमा फैलिँदै छ । यस भाइरसबाट विश्वमा आक्रान्त नभएका देश सायदै होलान् । अधिकांश देशमा यसले विकराल रूप लिइसकेको छ । दिनानुदिन सङ्क्रमित र मृतकको सङ्ख्या बढ्ने क्रममा छ । भाइरसले विश्वमा नै यसरी विकराल रूप लिइरहँदा अहिलेसम्म कुनै पनि देशले यसको रोकथामको औषधि आविष्कार गर्न सकिरहेका छैनन् । यद्यपि यसका लागि व्यापक अध्ययन र अनुसन्धान भने भइरहेको छ । तत्कालका लागि यसको रोकथामका लागि सजिलो माध्यम भनेको ‘सेल्फ क्वारेन्टाइन’ नै हो । यसका लागि विश्वका प्रायजसो देशहरूले अत्यावश्यक सेवाबाहेक सबै ठप्प बनाएर सिङ्गो देश नै ‘लकडाउन’ गरिरहेका छन् । नेपालले पनि लकडाउन गरेको आज करिब २२ दिन भैसकेको छ । सङ्क्रमितको सङ्ख्यालाई हेर्दा यो अझै बढ्ने निश्चित छ ।
सहर–बजार सबै बन्द छन् । अरुबेला हिँड्न पनि ठाउँ नपाइने सडकहरू अहिले सुनसान छन् । कोरोनाको भयावह स्थिति सिर्जना भइसकेपछि अधिकांश मानिसहरू सहर छाडेर गाउँ पसिसकेका छन् । सहरमा भएकाहरू यति बेला लकडाउनमा छन् । लकडाउनमा बसिरहँदा कोरोना नेपालका लागि त्यति हानिकारक साबित भैसकेको छैन । यो नेपालका लागि सकारात्मक पाटोको विषय हो । मानिसका लागि गाँस, बास र कपास सीमित समयका लागि आवश्यक पर्ने चिज हुन । यिनका आ–आफ्नै दायराहरू छन् । आ–आफ्नै फाइदा छन्, सीमाहरू छन् । फाइदा र दायराभन्दा धेरै गरियो भने हाम्रा लागि यी हानिकारक साबित हुन सक्छन् । अहिलेको ‘लकडाउन’ यस्तै भइरहेको छ । घरमा बस्दा बस्दा दिक्क लाग्नेजस्तै भैसकेको छ । त्यति मात्रै होइन यसले कतिपय मान्छेलाई मानसिक रोगको सिकार हुने अवस्थासम्म पुर्याउने गरेको छ । नियम उल्लघंन गर्दा कारबाहीमा परिएला भन्ने डर हुन्छ, कोरोना फैलिने डर हुन्छ, नियममा बस्दा निकै कठिन भइरहेको छ ।
यस्तो अवस्थामा मान्छे अल्छी हुने, विभिन्न रोगहरूले सताउने समस्या हुन सक्छ । यसको समाधान कसरी गर्ने त्यो मान्छेअनुसार भर पर्ने कुरा हो । यस परिस्थितिमा हामीलाई मनोरञ्जनको निकै आवश्यकता हुन्छ । साथसाथै शारीरिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । यसो गर्न सकिएको खण्डमा हामी ‘लकडाउन’ सहजै पार गर्न सक्छौ । यसका लागि विभिन्न सामाजिक सञ्जालहरू तैनाथ छन् । फेसबुक, ट्विटर , युट्युब, हरेकका हुन्छन् । अझ पछिल्लो समय सबैका लागि औधी प्यारो बन्ने गरेको छ – ‘टिकटक’ । अहिलेको समयमा सबैको रोजाइमा पर्न सफल माध्यम हो यो । अहिले यस्तो समयमा त मान्छेले यसको प्रयोग अत्यधिक गर्ने गरेका छन् । यस अर्थमा यो मानिसको मनोरञ्जन पूर्ति गर्ने भरपर्दो माध्यम साबित भैसकेको छ । लकडाउनमा समयको सदुपयोग धेरैले यसैबाट गरिरहेका छन् ।
सर्वसाधारणदेखि – कलाकार र नेतृत्वसम्मले यो समयमा यसमा मनोरञ्जन गरिरहेका छन् । यसबाट फाइदा के भने सामान्य मान्छेहरूसमेत छिनभरमा भाइरल भैदिन्छन । जसमा मान्छेले गर्ने अभिनयको मुख्य भूमिका हुने गर्छ । आफूलाई मन परेको गायकको गीत, मन परेको अभिनेताको अभिनय, मन पर्ने धुन, मन पर्ने भिडियो र आफ्नै स्वरको घटीमा १५ सेकेण्ड र बढीमा ६० सेकेन्डको भिडियो अपलोड गर्न पाइन्छ । जसमा विभिन्न इफेक्टहरु आफै बनाउन सकिन्छ । यसका साथै यसमा अरू सुविधाहरू पनि छन् । एउटै भिडियोलाई मान्छेहरूले फरक फरक तरिकाबाट बनाइरहेका हुन्छन् । जसलाई हेर्दा मनोरञ्जन हुने मात्र होइन आफैँले पनि उस्तै अभिनय गर्न सकिन्छ । यदि बनाइएको भिडियो उत्कृष्ट भयो भने आफ्नो अकाउन्टमा लाइक, कमेन्ट, शेयर, फ्लोअर्स र भिउज आफै बढ्छन् । यसले अझ हौसला प्राप्त हुने गर्छ । आफूले भिडियो बनाउँदै र अरूले बनाएको भिडियो हेर्दाहेर्दै समय बितेको पत्तै हुँदैन । यस अर्थमा ‘टिकटक’ सबैको मनोरञ्जनको सारथि बन्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्