काठमाडौ । कोरोनाको रोकथामका लागि भारत सरकारले गत जनवरीमा २१ दिन लकडाउन थप गर्यो । पैसा कमाउन नेपालबाट भारत छिरेका अधिकांश नेपालीहरुलाई यो लकडाउनले फसाद पारिदियो । काम गरौला, पैसा कमाउला अनि साहुँको ऋण तिरौला भन्ने ठुलै धोको पालेर छिमेकी देश भारत पलायन भएका यी नेपालीहरु अहिले बेपत्तामा परेजस्तै भएका छन । उनीहरुलाई लाग्थ्यो, २१ दिनको लकडाउन बेलैमा सकिएला अनि काममा लागौला । तर अब परिस्थिति त्यस्तो रहेन । दिनानुदिन कोरोना भाइरसका बिरामीहरु बढदै छन । मृत्यु हुनेको संख्या पनि बढने क्रममा नै छ । यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन खुल्न नसक्ने घोषणा गरेपछि त्यहाँ कार्यरत नेपालीहरुलाई निकै समस्याको अनुभूति भैरहेको छ ।

पैसाकै लागि यसरी अरुको देशमा बेपत्ता हुनुपर्ने त्यो पनि यत्रो ठुलो महामारीका बेला । आफ्नै देशमा पैसा कमाउने वातावरण भैदिएको भए यसरी अर्काको देशमा अलपत्र पर्नुपर्ने थिएन । जसोतसो सुखदुख गरेर आफ्नै देशमा आर्थिक जोहो गर्न पाए आनन्द आउने थियो । तर नेपालमा अहिले परिस्थिति यस्तो छैन । सरकारी स्तरबाट रोजगारीका लागि जति प्रयासहरु भए भनेपनि व्यवहारिक रुपमा त्यो कहिल्यै लागू भएको छैन । कुनै न कुनै बहानामा वैदेशिक रोजगारीका लागि विदेश पलायन हुनेहरुको लर्को लाग्ने गर्छ । पछिल्लो समय रोजगारीका लागि छिमेकी देश भारत जाने नेपालीहरुको जमात झन बढन थालेको छ । यसमा प्रायजसो पारिवारिक आय अत्यन्तै न्युन भएका हुन्छन । उनीहरुलाई पलायन हुने रहर कदापि हुदैन तैपनि परिस्थितिका अघि कसैको केही लाग्दो रहेनछ । बाध्यताले यसरी अर्काको देशमा पलायन हुनुपरेकोमा उनीहरु निकै भावविहवल हुन्छन । जति जोखिम भएपनि आखिर न्युन आय भएकाहरुलाई त्यै छिमेकी देश औधी प्यारो लाग्ने गर्छ ।

यसरी भारत पलायन हुनेहरुमा अधिकांश बुढापाका र युवाहरु हुन्छन । उस्तैपरे प्रायजसो नेपालीहरु आधार कार्ड लिएर उतैको बासिन्दा पनि हुने गरेका छन । उनीहरुलाई आफ्नो देशकोभन्दा उतैको अवस्था ठिक लाग्छ । यसरी आफ्नो देशको नागरिक अर्काको देशको आधार कार्ड लिएर बसिरहँदा आफ्नोृ देशको सरकारले कुनै वास्ता गर्दैन । अझ उल्टै बाटो सहज गरिदिन्छ । यो जत्तिको बिडम्बना अरु के हुन सक्छ । अहिलेपनि अधिकांश नेपालीहरु भारतमा अलपत्र परिरहेका छन । तर यो कुरा नेपाल सरकारलाई अत्तोपत्तो छैन । उता भारतमा कोरोनाले बिकराल रुप लिदै छ । संक्रमितहरु दिनदिनै बढदै छन भने मृत्यु हुनेहरु पनि त्यतिकै मात्रामा छन । यस्तो अप्ठयारो परिस्थितिमा पनि आफ्ना नागरिकमाथि सरकारको कुनै चासो छैन ।

भारतमा पैसा कमाउन गएका नेपालीहरु अहिले अलपत्र जस्तै भएका छन । कोरोनाले गर्दा अहिले सबै घरभित्रै बसिरहेका छन । त्यहाँको सरकारले अझै लकडाउन बढाउने निश्चित छ । यस्तो परिस्थितिमा त्यहाँ रहेका नेपालीहरुले निकै नै सास्ती खेप्नुपरेको छ । उनीहरु सकेसम्म नेपाल फर्कन चाहन्छन यदि यसो गर्न नसकिए नेपाल सरकार र भारत सरकारले मिलेर आफुहरुका लागि राहतको व्यवस्था गरिदिए उतै बस्न सकिने उनीहरु बताउँछन । भारतको केरलाको बाल्लुर जिल्ला र त्रिसुर जिल्लामा रहेका करिब ५ सय नेपालीहरुको अवस्था निकै दर्दनाक छ ।

स्थायी घर रुकुम भएका धन बहादुर खडकाले आफूहरुलाई त्यहाँ निकै समस्या भएको बताए । ‘अहिलेसम्म त खाद्यान्नको त्यस्तो अभाव भएको छैन तर अब अभाव हुनेबेला भएको छ । अब के खाने ? काम गरेर कमाएको पैसा पनि सबै सकिसक्यो । त्यहाँको सरकारले राहत दिने, नदिने अत्तोपत्तो छैन । खाली राहत दिन्छौ भनेर नाम, ठेगाना मात्रै लिने गरेका छन तर अहिलेसम्म राहत त परको कुरा अवस्था कस्तो छ भनेर बुझ्नसमेत कोहीपनि आएका छैनन । उनको गुुुनासो थियोे । अहिलेसम्म आफूहरु लकडाउनमा नै बसेकाले स्वास्थ्यमा त्यस्तो कुनै समस्या आएको छैन ।’ उनले बताए । त्यस्तै उनीसँगै भएका रमेश खडकाको पनि समस्या उहीँ छ । उनी भन्छन – ‘खानेकुरा सकिसक्यो आफूसँग अब पैसा छैन कसरी बस्नु ? निकै समस्या भैरहेको छ ।’ अब खाद्यान्न सकिएपछि के गर्नुहुन्छ भनेर प्रश्न गर्दा उनीहरु आफूहरुसँग कुनै विकल्प नभएको बताउँछन । त्यस्तै रुपक खडकाले ‘सरकारमा बसेकाहरुले दुइ चारवटा उखान, टुक्का बनाएर आफूहरुलाई अलपत्र पारिरहेको आरोप लगाए । बरु तत्काल भारत सरकारसँग समन्वय गरेर आफूहरुलाई नेपाल फिर्ता गरोस । उनको आक्रोस थियो ।’

भारतको केरला राज्यको त्रिसुर जिल्लामा रहेका रुकुम दिपक खडकाको समस्या अलि फरक छ । उनीमात्र होइन उनीसँगै भएका करिब ९३ जनाको समस्या लगभग उस्ताउस्तै छ । ‘हिजोसम्म फाटफुट पसलहरु खुलेका थिए, स्टक राखेका थियौँ त्यसैले गुजारा चलाइरहेका छौ तर अब निकै समस्या हुनेवाला छ । त्यहाँको सरकारले केही दिन अघि एकमुष्ट राहत दियो तर त्यो राहत त्यत्रो समूहका लागि के पुग्थ्यो र ! त्यतिबेलै सकियो ।’ उनले भने । उक्त ठाउँमा आफूहरुले विपतसँग जुध्न १७ सदस्यीय ‘नेपाली कोरोना नियन्त्रण समिति’ गठन गरेको उनले जानकारी दिए । जसको उनी सचिव रहेछन । केही समस्या आयो भने समितिमार्फत समस्या त्यहाँको स्थानीय सरकारसँग राख्न केही सहज होला भनेर उक्त समिति गठन गरिएको उनले जानकारी दिए । त्यता अहिले कुनै काम नभएकाले आफूहरु बित्थामा बस्नुपरेको उनको गुनासो छ । त्यस्तै अर्का कमलाल विकको पनि गुनासो त्यही छ । ‘अहिले आफूहरुसँग खाद्यान्न अभाव भएकोले आफूहरु थप समस्यामा परेका छौ ।’ उनको गुनासो थियो ।

उनीहरु सबैको नेपाल सरकारसँग एउटै माग नेपाल फर्काइदिए हुन्थ्यो भन्ने छ । न राहतको व्यवस्था छ न त उद्धारको व्यवस्था छ । यसरी त आफूहरु अलपत्र मात्र परेको उनीहरुको चरम गुनासो छ । घरतिर परिवार चिन्तामा छन । घरतिर आउ, जे होला यतै बेहोरौला भन्छन । तर अहिले हामी त्यो गर्न नसक्ने अवस्थामा छौ । उता परिवारलाई हाम्रो चिन्ता छ तर सरकारलाई हाम्रो कुनै चिन्ता नै छैन । सरकार हाम्रो चिन्ता त के गुनासै सुन्दैन । उनीहरुको गुनासो थियो ।