कोरोना अन्त्यपछिको नेपाल

कोरोना भाइरस संक्रमणको त्रास कसरी र कहिले अन्त्य हुन्छ भन्ने अनुमान गर्न कसैले पनि सक्दैन । जनजीवन नियमित बाटोमा फर्किन कति समय लाग्ला भन्ने पनि अनुमान गर्न सकिँदैन । नेपालमा कोरोना महामारीका रूपमा हालसम्म फैलिएको छैन । यो सन्त्रास यत्तिकै टरेर गए पनि नेपालमा यसको दूरगामी असर भने अवश्य पर्नेछ । लकडाउनले विश्वमा उत्पादन र आपूर्ति प्रणाली नराम्ररी बिग्रिएको छ । नेपालमा औद्योगिक कच्चा पदार्थ, तरकारी, माछामासु, फलफूल र दुग्ध उत्पादन र उपभोगको आपूर्ति प्रणाली पनि बिथोलिएको छ । यो नियमित बन्न र पहिलेकै स्थितिमा आउन पनि निकै समय लाग्नेछ ।
मोफसलका ठूला बजार र राजधानीलाई लक्षित गरी कृषि तथा कृषिजन्य सामग्रीको व्यावसायिक उत्पादन हुने गरेको छ । गाई, भैंसी फर्म, खसी, बाख्रा, पोल्ट्री फर्म, मौसमी तरकारी, फलफूल, तेलहन, दलहन, माहुरीपालन, माछापालन आदि यसका उदाहरण हुन् । अहिले यी सबै व्यवसायमा क्रमभंग भएको छ । यसको मारमा किसान, आश्रित परिवार र उपभोक्ता सबै परेका छन् । यसको असर विस्तारै बैंकिङ क्षेत्र र राजस्व उठ्तीमा पनि पर्नेछ । नेपालको आपूर्ति केही प्रतिशत कृषि उपजबाहेक लगभग पूर्णरूपमा आयातमा निर्भर छ । यसको अर्थ, राजस्व पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आयातमै निर्भर छ ।
विप्रेषणमा आउने कमीले सबैभन्दा पहिलो त हाम्रो उपभोगमुखी अर्थप्रणाली, आयात, राजस्व आदि खुम्चिनेछ । हाम्रा वैदेशिक रोजगारीको गन्तव्य मुलुकले रोजगारी कटौती गर्न शुरू गर्नेछन् । यसकोे शिकार नेपाल हुने नै छ । देशमा युवा बेरोजगारीको चाप बढ्नेछ । अहिले नै भारतबाट समेत लाखौं नेपाली कामदार फर्किएको समाचार आएका छन् । यसरी फर्किएकाहरूको जीवनयापन, बालबच्चाको शिक्षा, स्वास्थ्य आदिमा असर पर्नेछ । विप्रेषण कम हुनेबित्तिकै बैंक तथा वित्तीय संस्था, भन्सार कर र मुलुकमै उत्पादन गरिने वस्तु तथा सेवाको समष्टिगत मागमा असर पर्नेछ ।
यो महामारी रोकिएपछि पनि पर्यटनमा मन्दी आउने आकलन छ । भयका कारण मानिसहरू धेरै भीडभाडमा सकेसम्म जाने छैनन् । क्रयशक्ति र बचत घटेकाले पर्यटक बनेर घुमघाम गर्ने कुरामा पनि कटौती हुनेछ । यसले पर्यटन, बैंकिङलगायत देशको समग्र क्षेत्रकै आय घट्नेछ । तर, महँगी भने अझ बढ्नेछ । संसारका सबै अर्थतन्त्र नै मन्दीमा जाने अर्थशास्त्रीहरूले बताइसकेका छन् । नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन । वैदेशिक अनुदान र सहायतामा पनि ह्रास आउनेछ । नेपालमा विदेशी मुद्रा सञ्चिति घट्ने र शोधनान्तर घाटा बढ्ने सम्भावना छ । वैदेशिक सहायतामा आउने कमीले नेपालको आर्थिक क्षेत्रमात्र छुँदैन, गैरसरकारी संस्थाहरूले गरिरहेका सामाजिक विकासका काममा पनि कमी आउनेछ । यस्तोमा अर्थतन्त्रलाई चलायमान बनाउन राज्यले ठूलो लगानी गर्नुपर्ने हुन्छ । एकातिर नेपालसँग ठूलो लगानी गर्ने क्षमता छैन भने अर्कातिर नेपालको नेतृत्वमा त्यसो गर्ने सुझबुझ भएको जस्तो देखिँदैन ।
विश्व अर्थक्षेत्रका जानकारहरूले यो मन्दीबाट पार पाउन आधादेखि १ दशक लाग्ने अनुमान गरेका छन् । ढिलासुस्ती र अव्यवस्थापनका कारण पछि परेका हाम्रा विकास निर्माणका काम यो विश्वव्यापी मन्दीका बेला समयमै सम्पन्न होलान् भन्न सक्ने आधार देखिँदैन ।
केमा परिवर्तन आउँछ त ?
कोरोनाको महामारी रोकिए पनि व्यवसाय गर्ने तौरतरीकामा फरक आउन थाल्नेछ र डिजिटाइजेशन अझ बढ्नेछ । स्यानिटाइजर, स्टेशनरी र घरायसी उपकरणजस्ता सामानको माग बढ्नेछ । समयअनुसार अनलाइनमा अभ्यस्त नहुने व्यवसायहरू पछि पर्दै जानेछन् । ई–कमर्शलगायत केही उद्योग–व्यवसाय अझ फस्टाउने छन् । कतिपय कम्पनी, कलेज, विद्यालय र संघसंस्थाले आफ्ना कर्मचारीलाई घरबाटै काम गराउन थाल्नेछन् । शिक्षकहरूले जुम, स्काइप, ह्वाट्सयाप, भाइबर, एडोबी कनेक्टजस्ता एप्समार्फत लाइभ पढाउन शुरू गर्नेछन् । विद्यार्थीहरू पनि घरमै बसेर ‘भर्चुअल क्लास’मा अभ्यस्त हुँदै जानेछन् ।
सामाजिक व्यवहारमा पनि फरक आउन थाल्नेछ । मानिसहरू आफ्नो स्वास्थ्यप्रति पहिलेभन्दा अलि बढी सचेत हुनेछन् । जस्तो कि बाहिर खाने धेरै मानिस सकेसम्म घरमै खान थाल्नेछन् । हात मिलाउनु, अँगालो हाल्नुभन्दा सकेसम्म नमस्ते वा हाई हेल्लोले काम चलाउनेहरू बढ्नेछन् । स्वास्थ्यक्षेत्रमा सरकार र गैरसकारी संस्थाहरूको लगानी बढ्नेछ । फोब्र्सका अनुसार विश्वमा आइरहेको परिवर्तनहरूले गर्दा सन् २०३० भित्र झन्डै २ अर्ब जागीर हराउनेछ । सूचनाप्रविधिसँग सम्बद्ध एप्लिकेशन बनाउने कम्पनी, ईकमर्श, गेमिङ इन्डस्ट्री, साइबर सेक्युरिटी, ब्लक चेनलगायत व्यवसाय अगाडि आउनेछन् । नेपाल पनि यसबाट अछुतो रहनेछैन ।
अर्थतन्त्रमा असर
सरकारले अहिले ल्याएको र पछि ल्याउने राहत प्याकेजले पनि खासै सहयोग हुनेवाला छैन । बैंकको साँवा र ब्याजको किस्ता तिर्ने म्याद अलि पर सार्ने वा अलिअलि ब्याजदर कटौती गर्नेजस्ता टालटुले कामले व्यवसायलाई गति दिँदैन । बन्द उद्योगहरू खुलाउन निजीक्षेत्रलाई कसरी प्रोत्साहन गर्ने, उनीहरूमा कसरी उत्साह भर्ने भनेर दीर्घकालीन सोच राखेर योजना ल्याउनुपर्ने हुन्छ । तर, हाम्रा सरकारी नीति निर्माणमा बस्नेहरूको विगतको रवैया हेर्दा निजीक्षेत्रलाई रोजगारदाता, देशका लागि सम्पत्ति सृजना गर्ने समूह र अर्थतन्त्रको मेरूदण्डभन्दा कालाबजारिया हुन् भन्ने दृष्टिले हेर्नेबाहेक अन्य सोच देखिँदैन ।
समग्रमा सरकारले व्यवस्थापन गर्न नजान्दा मन्त्रीलगायत सरकारी कर्मचारीलाई तलब खुवाउन नसक्ने स्थितिमा पुग्न सक्छ । साथै, सरकार र राजनीतिप्रति सामान्य मानिसहरूकोे पनि वितृष्णा बढ्नेछ । यसले सरकार सञ्चालनमा खटपट शुरू हुनेछ ।
केही अर्थशास्त्रीहरू भने विश्व अर्थतन्त्रको भविष्यप्रति अझै आशावादी नै देखिन्छन् । उनीहरूको भनाइमा महामारीको अवस्था सकिएपछि मान्छेहरूको दैनिकी फेरि सामान्य बन्नेछ । मान्छेहरू काममा फर्किनेछन् । अर्थतन्त्र छिट्टै तंग्रिनेछ । कोभिड–१९ विरुद्धकोे उपचार उपलब्ध भयो भने त मान्छेहरू फेरि यात्रा गर्न थाल्नेछन् । पर्यटन फेरि चलबलाउन थाल्नेछ । विभिन्न सेवामूलक व्यवसाय सुचारु हुनेछन् र अर्थतन्त्र फेरि चलायमान हुनेछ ।
नेपालका लागि अवसरहरू
सरकार दूरदर्शी र इमानदार र हामी सृजनशील हुनसक्ने हो भने नेपालका लागि यो संकटले अवसरहरू पनि ल्याएको छ ।
वैदेशिक रोजगारीमा रहेका धेरै नेपाल फर्किने भएकाले उनीहरूलाई कृषि उद्यममा लगाउन राम्रा योजना ल्याउन सके अवसरै अवसर छन् । नेपाललाई कमसे कम कृषि (खाद्यान्न, तरकारी, फलफूल), जडीबुटी आदि क्षेत्रमा आत्मनिर्भर बनाउने यो ठूलै अवसर हो । अहिलेको आपूर्ति संकट नेपालको कृषिको बजारीकरणको उत्तम अवसर हुन सक्छ । कृषि छोडेर वैदेशिक रोजगारी वा शहरतिर ज्यालादारीमा काम गरिरहेकाहरू अहिले गाउँ फर्केका छन् । यो क्रम लामै समय रहने देखिन्छ । यसले धेरै वर्षदेखि काम गर्नेहरूको अभावले मरेतुल्य कृषि बौरिन सक्छ । भारतबाट हुने कृषि उपज आयातमा कमी आउने र मुलुक कम परनिर्भर हुन सक्ने सम्भावना बढेको छ । नेपाली कृषि उत्पादनको बजारीकरण हुने सम्भावना बढेको छ । यसले संघीय राज्य प्रणालीका सबै संयन्त्रलाई क्रियाशील बनाउने एउटा अवसर पनि दिएको छ । स्थानीय सरकारहरूका लागि यो समय विभिन्न तथ्यांक संकलन गर्ने, तथ्यांकलाई सूचनामा परिणत गर्ने र स्थानीय अवसरहरूका आधारमा व्यावसायिक योजनाहरू बनाएर काम गरेर देखाउन, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्न र स्थानीय रोजगारीका अवसर सृजना गर्ने मौका यसले दिएको छ ।
तर, हाम्रो सरकारको कामको तयारी र निर्णय क्षमता हेर्दा भने अवसर उपयोग हुने सम्भावना कमै देखिन्छ । हाम्रो समाजको चेतनाको स्तर हेर्दा पनि धेरै परिवर्तन आइहाल्ला भन्ने देखिँदैन । तर, समयअनुसार चल्ने थोरै नै भए पनि तिनीहरूले कोरोना महामारीपछिको नेपाललाई नयाँ गति दिनेछन् । र, यो पनि आशा गरौं कि सरकारले पनि महामारीले ल्याएका अवसरलाई समयमै चिनेर काम गर्नेछ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्