काठमाडौं । वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकले कोरोना भाइरस विशेष अस्पताल सञ्चालन गर्न माग गरेका छन् ।

आइतबार बसेको बैठकमा नारायणी अस्पतालका चिकित्सकले जनरल र कोभिड–१९ का बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा समस्या आउन सक्ने बताएका छन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले छिटो भन्दा छिटो कोरोना विशेष अस्पताल सञ्चालन गर्नुपर्ने बताए ।

कोरोना संक्रमित तीन जना भारतीय नागरिक हाल नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारत छन् । चिकित्सकहरुले कोरोना संक्रमित भेटिएको क्षेत्र वीरगञ्ज– २ छपकैया लाई शिल गरेर आवश्यक जाँच पड्ताल शुरु गर्न माग गरेका छन् ।

उनीहरुले मेडिसिन विभागबाहेक सबै विभागका चिकित्सक, स्वास्थ्यकर्र्मीले कोभिड–१९ को उपचारमा सहयोग गर्ने निर्णय गरेका छन् । प्रशासनले छिटो भन्दा छिटो कोरोना संक्रमित भेटिएको क्षेत्रलाई शिल गरेर आवश्यक जाँच गर्न अग्रसरता लिनुपर्ने, अस्पतालमा विरामी राखिएको आईसोलेसन वार्ड भएको क्षेत्रमा उच्च सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन आवश्यक प्रबन्ध मिलाउनुपर्ने माग अस्पतालले राखेको छ ।