इटलीले संसारलाई दिँदैछ दोस्रो चेतावनी

‘छटपटी र निराशाको नतिजा देखिँदैछ,’ पाँच सन्तानका पिता अरमान्डो ग्यालिनरी भन्छन्।
उत्तरी नेपल्समा उनी सानो फूल पसल चलाएर गुजारा धान्थे। उनको पसल बन्द भएको एक महिना भयो।
‘पसल बन्द भएयता मेरो एक पैसा कमाइ भएको छैन,’ उनी भन्छन्, ‘अहिलेसम्म कुनै सरकारी सहयोग पनि पाएको छैन। माग्न जाने ठाउँ कहीँ छैन।’
इटलीको कथा हरेकलाई थाहा भइसकेको छ। कोरोना भाइरसको कहर खपेको पहिलो युरोपेली मुलुक हो इटली। यसले युरोप र अमेरिकालाई महामारी कस्तो हुन्छ, त्यसको संकेत गरेको थियो। सुरुमा त्यहाँ लकडाउन घोषणा गरियो। त्यसपछि स्वास्थ्य सेवा प्रणाली नै भताभुंग हुने स्थिति देखियो। बढ्दो मृतक संख्याको आतंक पनि इटलीले भोग्यो।
लकडाउन गरिएको करिब एक महिना हुनलाग्दा इटलीले संसारलाई दोस्रो चेतावनी दिइरहेको छ। यहाँको अर्थतन्त्र संकटमा छ। निश्चय नै निकै ठूलो मन्दी आउनेछ। र, कामदार वर्गका मानिस सबैभन्दा ठूलो संकटमा छन्। स्वरोजगार, मौसमी र अनौपचारिक क्षेत्रका श्रमिक सबैभन्दा बढी पीडित भइरहेका छन्। यसरी उनीहरु कतिञ्जेल बाँच्न सक्छन्, स्पष्ट छैन।
इटलीको उत्तरी क्षेत्र अर्थात् लोम्बार्डी र एमिलिया रोमाग्ना कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको छ। तर, औद्योगिकीकरण कम भएको दक्षिणी क्षेत्रमा चाहिँ यसको आर्थिक असर बढी परेको छ।
नेपल्स केम्पानिया क्षेत्रको राजधानी हो। यो क्षेत्रका ४१ प्रतिशत मानिस गरिबीको जोखिममा छन्। यहाँ कामको चर्को अभाव छ। गतवर्ष यहाँ बेरोजगारी दर २० प्रतिशत थियो। काम गर्न लायक जनशक्तिको २० प्रतिशत जति नै हिस्सा अर्धरोजगार थियो। काम पाउनेले पनि अनौपचारिक क्षेत्रमा पाएका थिए। जसको कुनै सुरक्षा हुँदैन र संकटको बेला त्यस्तो रोजगारी टिक्दैन।
ब्रुनो एस्पोसिटोले वर्षौँदेखि प्लम्बरको काम गर्दै आएका थिए। एक स्थानीय परिवारको व्यवसायअन्तर्गत उनी काम गर्दै आएका थिए। दक्षिणी क्षेत्रका करिब २० लाख मानिसजस्तै उनको पनि रोजगारदातासँग कुनै औपचारिक सम्झौता थिएन।
‘म राज्यको कुनै तथ्यांकमा उल्लेख छैन। रोजगार कार्यक्रमअन्तर्गत मेरो योगदान छैन,’ उनी भन्छन्, ‘त्यसैले राज्यले दिनै कुनै पनि तरहको सुविधा म पाउँदिनँ।’
सामान्य अवस्थामा आफ्ना तीन सन्तानसहितको परिवारलाई हातमुख जोर्न एस्पोसिटोलाई कुनै मुस्किल पर्दैन।
‘तर, अहिलेको अवस्थामा त सबैथोक भद्रगोल भएको छ,’ उनी भन्छन्, ‘कहिलेबाट अवस्था सामान्य हुन्छ, त्यो पनि हामीलाई थाहा छैन।’
अनौपचारिक क्षेत्रका कामदार अर्थात्, घरेलु हेरचाह गर्ने, सरसफाइ मजदूर, निर्माण क्षेत्रका कामदार, वेटर, कुरियर, ड्राइभर र कृषि क्षेत्रका कामदार दोहोरो मारमा छन्। पहिलो त, उनीहरु जेमा निर्भर थिए, ती व्यवसाय नै समाप्त भए। दोस्रो, महामारीले निम्त्याएको आर्थिक संकट समाधानका लागि इटलीको सरकारले घोषणा गरेको राहत तथा सुविधाबाट उनीहरु वञ्चित भए।
इटलीमा करमा योगदान नदिनेले सरकारी सुविधा निकै कम पाउँछन्। त्यसैले एस्पोसिटो र उनको परिवार यतिबेला सामुदायिक केन्द्रबाट साप्ताहिक रुपमा प्राप्त हुने खाद्यान्नमा निर्भर छ।
‘तिनले सहयोग नगरेको भए हामीसँग खानेकुरा केही पनि हुने थिएन,’ उनी भन्छन्।
सरकारी व्यवस्थाभित्र अटाएका कामदारहरु समेत छुट्ने जोखिम छ। लुचिया विताले वर्षको आधा हिस्सा नेपल्स विमानस्थलमा काम गर्छिन्। मार्चदेखि उनी यहाँ आउने लाखौँ पर्यटकका लागि क्याटरिङ गर्छिन्। त्यसपछिको ६ महिना उनी र उनीजस्ता मौसमी कामदार बेरोजगारी भत्तालगायतका सुविधा दाबी गर्न सक्छन्। तर, अहिले ती सुविधा बन्द भएका छन्। र, अहिले उनी सरकारबाट कुनै सहयोग पाउँदिनन्।
‘हामी सुविधा पाउने वर्गमा पर्दैनौँ रे,’ वितालेले भनिन्।
पर्यटकीय क्षेत्रमा काम गर्ने स्वरोजगार तथा मौसमी कामदारलाई सरकारले एक पटकका लागि ६ सय युरो प्रदान गरेको छ। तर, प्राविधिक रुपमा भन्दा विताले यातायात क्षेत्रमा काम गर्छिन्। त्यसैले यो राहतका लागि उनले आवेदन दिनै पाउँदिनन्। यतिबेला उनी पनि स्वयंसेवक संगठनहरुले दिएको खाद्यान्नमा निर्भर छिन्।
धेरैका लागि परिस्थिति अन्धकार छ।
‘यहाँका प्रत्येक मान्छे अहिले समस्या भोगिरहेका छन्,’ फूल पसले ग्यालिनरी भन्छन्, ‘भोकै बस्न बाध्य मानिसको संख्या बढिरहेको छ। उनीहरुको बानीबेहोरा परिवर्तन भएको तपाईं देख्न सक्नुहुन्छ।’
पूरै क्षेत्रमा सामाजिक अशान्तिका रिपोर्ट आउन थालेका छन्। सामान्यतया कसिलो आपसी सम्बन्ध रहेको यहाँको समुदायमा कतिपय स्थानमा पसलेहरुलाई खाद्यान्न दिन बाध्य पारिएको छ। कहीँ चोरीका घटना भएका छन्।
‘अस्ति राति केही केटा ढोका फुटाएर मेरो ग्यारेजमा पस्न लागेको फेला पारेँ,’ ग्यालिनरी भन्छन्, ‘यस्ता घटना हाम्रा लागि बिल्कुल नयाँ हुन्।’
तथापि, यस्ता घटना विरलै भएका छन्। योभन्दा अचम्मलाग्दो त नेपल्समा राज्यको सहयोग नहुँदा पनि समुदायस्तरबाट त्यो कमी पूरा भइरहेको छ। केहीले हेल्पलाइन नै तयार गरेका छन्। जसको प्रयोग गरेर स्वयंसेवकहरुले खाना र अन्य सहयोग समुदायमा पुर्याउन सक्छन्। केही पसलेहरुले पैसा तिर्न नसक्नेहरुका लागि पनि सामान किन्न आफ्ना सम्पन्न ग्राहकहरुलाई आग्रह गरिरहेका छन्।
नेपल्स र दक्षिणी क्षेत्रका कामदारहरुलाई योभन्दा धेरै सहयोगको आवश्यकता छ। खानाको कुपनका लागि सरकारले छुट्याएको ४० करोड युरो पर्याप्त छैन। सरकारले आगामी बजेटमा अहिलेसम्म बेवास्तामा परेकाहरुका लागि ‘आपतकालीन आय’ को घोषणा गर्ने चर्चा छ।
तर, महिनाको अन्त्यसम्म बजेट आउने छैन। सरकारी सहयोगबाट वञ्चित र सामुदायिक सहायतामा बाँचिरहेका कामदार बेचैन हुँदै गएका छन्। उनीहरुका लागि बजेट आउने चर्चा मात्र पर्याप्त छैन।
र, संसारभरीकै अनौपचारिक क्षेत्रका कामदारहरुका लागि साइरन बजिरहेको छ। यो समाचार द न्युयोर्क टाइम्सलाई उदृत गर्दै नेपाल खबरमा प्रकाशन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्