काठमाडौं । नेपालीको जीवनस्तर उकास्न नेपालमा करिब ५१ हजार गैरसरकारी संस्था सक्रिय छन् । तीमध्ये अधिकांश संस्था स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय छन् । कोरोनाको चर्चा चलेसंगे राष्ट्रिय गैर सरकारी संस्था महासङ्घले यस विपतको घडीमा आफ्नो सक्रियता देखाएको छ ।

समाज कल्याण परिषद्मा मात्रै ५१ हजार गैरसरकारी (एनजिओ) र दुई सय ३४ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) आबद्ध छन् । चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय एनजिओले नेपाली जनताको हितमा २९ अर्व २९ करोड रुपैयाँ खर्च गर्ने स्वीकृति लिएका छन् । त्यस्तै, आइ एनजिओले यही वर्षका लागि मात्र १६ अर्व ६१ करोडको बजेट स्वीकृत गराएका छन् । यसरी नेपालमा एकै वर्ष एनजिओ र आइ एनजिओबाट ४५ अर्व ९० करोड खर्च हुँदै छ ।

चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा मात्र खर्च गर्ने गरी ३४ आइ एनजिओले ६ अर्व ३४ करोडको बजेट बनाएका छन् ।त्यस्तै, दुई सय २२ एनजिओको तीन अर्व २९ करोड रुपैयाँको योजना पारित गराएका छन् ।

सरकारले चालू आवमा कुल स्वीकृत बजेटको कम्तीमा २० प्रतिशत रकम कोरोना नियन्त्रण र रोकथामका लागि खर्च गर्न एनजिओ–आइ एनजिओलाई निर्देशन दिने निर्णय गरेको छ । ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत बुधवार मन्त्री स्तरीय निर्णय गरेको छ,’ परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराई भन्छन्, ‘निर्णय कार्यान्वयन गर्न देश भरका एनजिओ र आइ एनजिओलाई गत बिहीबार नै निर्देशन दिइएको छ ।’

यस्तो बजेट स्वास्थ्य उपकरण खरिद र कोरोना प्रभावित समुदायमा राहत वितरणका लागि खर्च गर्न पनि परिषद्ले भनेको छ । स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य सेवा विभाग र राहत वितरणका लागि स्थानीय तहमार्फत एनजिओ र आइ एनजिओले खर्च गर्नुपर्ने मन्त्रालयको निर्णयमा उल्लेख छ ।

राष्ट्रिय गैर सरकारी संस्था महासङ्घले अहिलेको विषम परिस्थिमा पीडित जनताले अनुभूति गर्ने गरी आफ्नो काम अघि सरेको छ। साथै यस्तो विषम परिस्थितिमा आफूलाई सामाजिक सेवाको क्षेत्रमा अब्बल र अग्रणी भूमिका निर्वाह गरेको भनी राष्ट्रिय अन्तर्राष्ट्रिय छेत्रमा सूचना सम्प्रेषण गरी ठुलो धनराशि भित्र्याउने गैर सरकारी सङ्घ संस्थाको निष्क्रियता प्रति क्षोब प्रकट गरेको छ।

यससँगै न्यासनल एनजिओ फेडेरेशनले अहिलेको परिस्थिमा उपभोक्ता समिति निर्माण गरी एकद्वार प्रणालीबाट राहत वितरण कार्य गरेको खण्डमा वास्तविक पीडितले राहत प्राप्त गर्न सक्ने भएकाले सोही प्रक्रियाबाट राहत सामग्री उपलब्ध गराउन सम्पूर्णमा अपिल गरेको छ ।

राष्ट्रिय गैर सरकारी संस्था महासङ्घद्वारा २६० परिवारलाई १५ दिनको रासन वितरण

राष्ट्रिय गैर सरकारी संस्था महासङ्घद्वारा रासन वितरण

करोनाभाइरसका कारण देश लकडाउनमा गएको १२ औँ दिन नेपाल राष्ट्रिय गैर सरकारी संस्था महासङ्घले ज्याला
मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर तथा निम्नवर्गीयहरूलाई राहत वितरण गरेको छ ।

काठमाडौँ वडा नं ९ मा बसोबास गर्ने मजदुर तथा निम्नवर्गीयहरूलाई राहत वितरण गरिएको महासङ्घले जनाएको छ । वडा नं. ९ कार्यालयले तयार परेको तथ्याङ्क अनुसार वडा कार्यालयकै सहयोगमा उक्त वडामा बसोबास गर्ने २६० घरधुरीलाई राहत सहयोग उपलब्ध गराइएको हो ।

सहयोगमा १५ दिनलाई पुग्ने दाल, चामल, नुन , तेल, चिउरा लगायतको सामाग्री उपलब्ध गराइएको महासंघी अध्यक्ष कुन्ती पोखरेलले जानकारी दिइन् । उनले भनिन् ‘हामीले घर गनेर भन्दा पनि खान नपाएका, दैनिक काम गरेर बिहान बेलुकाको छाक टार्ने, जस्तै तरकारी बेच्नेहरूलाई लक्षित गरेर राहत वितरण गरिरहेका छौ ।

एनजिओहरूलाई डलर खाने काम गरेको भन्ने गलत आरोप लागिरहेको समयमा हामीले केही गरेर देखाउने समय आएको छ । देश भरि छरिएर रहेका एन्जीओहरुलाई म राष्ट्रिय गैर सरकारी संस्था महासङ्घको तर्फबाट यो भन्न चाहन्छु कि, तपाइहरू पनि स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्नुहोस् ।’

वडा अध्यक्ष रामकृष्ण श्रेष्ठले भने ‘हामीले कोरोनाका कारण देशमा भएको लकडाउनलाई मध्यनजर गर्दै यो समयमा खान समेत मुस्किल परेका गरिब, निमुखा, ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका वडावासीहरूलाई राहत वितरण गर्दै आएका छौँ । यस अन्तर्गत आज गैर सरकारी संस्था (एन्जीओ) हरुकै प्रतिनिधित्व गर्दै महासङ्घले पनि राहत वितरण गरेको छ ।

वडा अध्यक्ष श्रेष्ठले यस अघि नै वडा कार्यालयले पाँच सय भन्दा बढी परिवारलाई राहत वितरण गरिसकेको र शनिवार महासङ्घको तर्फबाट २६० जनालाई राहत वितरण गरेको जानकारी दिए ।

यस संघै राष्ट्रिय गैर सरकारी संस्था महासङ्घले देश भरि छरिएर रहेका एन्जीओहरुलाई विपद्को समयमा आफ्नो समाजकी उत्तरदायित्व पुरा गर्न ध्यानाकर्षण गर्दै विज्ञप्ति समेत जारी गरेको छ ।