काठमाडौँ । कोरोना भाइरसका कारण आफ्ना करिब ८ हजार नागरिक गुमाइसकेको इटाली यतिबेला लकडाउनमा छ । यहाँको जनजीवन निकै कष्टपूर्ण बनेको छ । सरकारले आफ्ना नागरिकलाई नयाँ व्यवस्था र नियमहरू पालना गर्न आग्रह गरेको छ । जसले सरकारको यस्तो आग्रह मानिरहेका छैनन्, त्यस्ता मानिसलाई कोरोनाले गाँजेको छ ।

अहिले आफ्नो घरबाट २ सय मिटरभन्दा पर भेटिने जो कोहीलाई प्रहरीले रोकेर बाहिर निस्कनुको कारण सोधिरहेको छ । विनाकाम डुलेको पाइए तीन हजार यूरोसम्म जरिमाना लगाइन्छ । हजारौंको ज्यान लिइसकेको कोरोना भाइरसको डर र कानुनी बन्देज मानिसहरूलाई घरमा सीमित राख्न काफी छ ।

मिलानको अवस्था
मिलानमा बिहानै कोही पनि मर्निङ वाःकमा निस्किरहेका छैनन्, न त साँझमा साथीसँग भेट्न वा घुम्न नै गइरहेका छन् । सडकहरू शून्य छन् । अत्यावश्यक खाद्य पदार्थ अथवा परिवारका लागि नभइ नहुने चिज लिनका लागि मात्र मानिसहरू बाहिर निस्कन्छन् । डिपार्टमेन्टल स्टोरमा दुईदेखि पाँच जनालाई मात्र एक पटकमा प्रवेश गर्न दिइन्छ र तपाईंका परिवारलाई जीवित रहनका लागि के(के कुराको आवश्यकता हुन सक्छ, सुनसान स्टोरमा सपिङ गरिरहेको समयमा यो कुरा तय गर्नु एक खालको परीक्षा जस्तै हो ।)

संक्रमणबाट बचाउनका लागि सरकारले आफ्ना नागरिकलाई आफ्नो घरभन्दा २ सय मिटरभित्र रहेका पसलबाटै आवश्यक सामान खरिद गर्न अनुमति दिएको छ । तर, त्यो दूरीभन्दा टाढा गएमा ठूलो जरिमाना तिर्नुपर्ने हुन सक्छ ।

दिनमा कैयौँ पटक लाउडस्पीकरमा प्रहरीले घर बाहिर घुमिरहेकाहरूलाई तत्कालै घरभित्र गएर बस्न निर्देशन दिइरहेको देख्न सकिन्छ ।

अफिस गइरहेको भए लिखित कागज
विपत्तिमा पनि जसलाई काममा जान जरुरी हुन्छ, त्यस्ता व्यक्तिका लागि सरकारी अधिकारीले विशेष पास जारी गर्ने गरेका छन् । यस्तो पासमा व्यक्ति, उसको कामको जानकारी, आवागमनको समय, कारण र सडक जस्ता सूचना खुलाइएको हुन्छ । यस्तो गर्नुको पछाडिको कारण भनेको कुनै पनि व्यक्ति काममा आउजाउ गरिरहेको समय विना कारण अन्त कतै नजाउन् भन्नु नै हो । सानोतिनो कामका लागि पनि बाहिर निस्कनु पर्दा जो कोहीले आफ्नो साथमा पहिचान र ठेगानाको कागजात राख्नुपर्ने हुन्छ ।

चार प्रकारका पसल खुला
संक्रमणको बढ्दो आँकडाका साथ हर तीन दिनमा देशको हालत पूर्णरूपमा परिवर्तन भइरहेको छ । यद्यपि, मानिसहरूले खाने–पिउने सामानको चिन्ता भने गर्नुपरेको छैन । यस्ता पसलहरू खुलै हुन्छन् । दबाइ र चुरोटका पसल वा अखबारका स्टल खुलै हुन्छन् ।

विना कर्मकान्ड गाडिँदैछन् शव
मृतकहरूको अन्तिम संस्कार कार्यक्रममा रोक लगाइएको छ । परम्पराअनुसार चर्च वा पादरीकहाँ नलगी शवलाई गाडिँदैछ । यस क्रममा एक वा दुई परिवारजन मात्र हुन्छन् ।

शव गाड्ने एजेन्सीले पनि शव लिनका लागि अस्वीकार गरिरहेका छन् । यही कारण कोरोना भाइरसका कारण मृत्यु भएकी ४७ वर्षीया टेरेसा फ्रान्जेको शव ३६ घण्टासम्म घरमै राखियो । उनका भाइ लुकाले सामाजिक सञ्जालमा भावुक निवेदन गरेका छन्, त्यसपछि अन्तिम संस्कार हुन सक्यो । पाँच लाख जनसंख्या रहेको बरगामो शहरका मेयर जिर्योजियो गोरीले दोस्रो विश्वयुद्धपछि पहिलो पटक यहाँको ऐतिहासिक चिहान बन्द गर्ने आदेश दिएका छन् ।

अखबारमा १०–१० पेजको श्रद्धाञ्जली
श्रद्धाञ्जली सन्देशले नै अखबारका १०–१० पाना ओगटी रहेको छ । यस्तो सन्देश प्रकाशित गर्न यस कारण पनि जरुरी भइरहेको छ कि अन्तिम संस्कार आयोजना नहुँदा कतिपय अवस्थामा मृतकका आफन्त वा चिनजानका मानिसले सूचना नपाएका हुन सक्छन् ।

नागरिक भन्दैछन्, ‘सरकारले ढिला गर्‍यो’

सरकारले लकडाउन गर्न ढिला गरेको गुनासो इटालीका नागरिकले गरिरहेका छन् । सरकारले पहिले स्कुलहरू बन्द गर्न प्रतिक्षा गर्‍यो । त्यसपछि आंशिक लकडाउन सुरू गरियो । केही साना क्षेत्र वा गतिविधि बन्द गरियो तर पर्यटनको नाममा रेस्टुरेन्ट, कफी सप र पब चलाउन दिइयो ।

मानिसहरूको आउजाउ भइ नै रह्यो, भाइरस फैलिँदै गयो । जब पूरा देश लकडाउन भयो तबसम्म ढिला भइसकेको थियो । (एजेन्सीको सहयोगमा)