काठमाडौँ । विश्वभर महामारीको रूपमा फैलिएको करोनाभाइरस विश्वको १९८ देशमा फैलिसकेको छ । विश्वभर यसबाट कम्तीमा ५ लाख तीस हजार मानिस सङ्क्रमित भएका छन् भने करिब २४ हजारले ज्यान गुमाएका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीले विश्वव्यापी आर्थिक मन्दीको नयाँ अध्याय सुरु गरिसकेको छ ।

विश्वव्यापी आर्थिक मन्दीको नेपालमा कस्तो असर भन्ने विषयमा राजधानी न्युजले एक विश्लेषण गरेको छ ..

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा तथ्याङ्कलाई हेर्ने हो भने करिब २६ हजार एक सय नेपाली कामदारहरू युएई, १९ हजार ५९३ कामदार साउदी अरेबिया, १२ हजार २७४ कामदार कतार र ९ हजार ९९३ कामदार मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपाल बाट वैदेशिक रोजगारीका लागी करिब १७२ देशमा नेपालीहरू गएको पाइन्छ । नेपाले कतार, युएई जापान, दक्षिण कोरिया, बराइन, इजरायल, जोडन र मलेसियालगायतका आठ देशसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा ३ खर्व ४ अर्व नेपाली रुपैयाँ रेमिटेन्स कानुनी तवरबाट भित्राएको तथ्याङ्क नेपाल राष्ट्र बैङ्कसँग छ । यो तथ्याङ्कलाई आधार मान्ने हो भने सामान्य अवस्थामा आर्थिक वर्ष २०७६/७७ एक वर्षको रेमिटेन्स करिब १२ खर्व भन्दा बढी हुने थियो । यदि नेपालको जिडिपी ३२ खर्व मान्ने हो भने वैदेशिक रेमिटेन्स नेपालको जिडिपी को ३७ % हुन आउँछ र नेपालको आर्थिक वर्ष २०७६/७७ बजेटको करिब ८० % हुन्छ ।

कोरोनाभाईरसको विश्वव्यापी महामारीले नेपाली विदेशी कामको प्रमुख गन्तव्य कतार, युएई, मलेसिया, अमेरिका, अस्ट्रेलिया , युके सहित सम्पूर्ण मुलुकलाई नराम्ररी असर पारेको छ । अमेरिकाको एक न्युज एजेन्सीका अनुसार अहिले विश्वव्यापी आर्थिक मन्दी तर्फ जादैछ । अमेरिकामा मात्र करिब ३३ लाख रोजगारी गुमेको बताइएको छ र यो सङ्ख्या बढ्ने क्रममा रहेको छ । यो महामारीलाई सामान्य मन्दी भन्दा पनि अर्थतन्त्रको असामान्य रोकावट भनिएको छ र यसको असर कम्तीमा २ -३ वर्षको हुने आकलन गरिएको छ ।

रेमिटेन्सले धानिएको नेपाल जस्तो विकासोन्मुख मुलुकको अर्थतन्त्रमा करोनाभाइरसले निकै नै असर पर्ने पक्क रहेको छ । विदेशमा रहेका कामदाहरुले काम नपाइरहेको अवस्था छ । न त महाकारीका कारण स्वदेश फर्कन नै पाएका छन् । कतिपय विकसित मुलुकमा रहेका नेपालीहरू ज्यालादारी काम गरिरहेका छन् । अमेरिका, अष्टेलियालगायताका घण्टाका हिसाबले तलब पाउने मुलुकमा रहेका नेपाली कामदारहरू आफै स्वदेशबाट पैसा मगाउने अवस्थामा पुगेका छन् ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल रेमिटेन्सको १७ दशमलव ७ प्रतिशत हिस्सा ओगटेको कतारमा समेत काम ठप्प भएको छ । आवत जावत बन्द छ । कतार सरकारले बिहिबारबाट तीन दिनकालागि घर बाहिर ननिस्कन सूचना जारि गरेको छ । कामदारहरू विना रोजगारी आर्काको देशमा बस्न बाध्य छन् ।

त्यस्तै चालु आर्थिक वर्षको सोही अवधिमा कतार पछि अत्यधिक रेमिटेन स्वदेशमा भित्राउने छिमेकी राष्ट्र भारत पनि कोरोनाको प्रत्यक्ष सिकार भएको छ । भरतमा समेत गत मङ्गलवार रातिबाट नै लक डाउन अवधि सुरु भइसेको छ । भरतमा रहेका ५० हजार भन्दा बढी नेपाली कामदार त स्वदेश समेत फर्किसकेका छन् । यस्तो अवस्थामा नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ? सम्भावना भएरै पनि प्रशस्त उद्योग कलकारखाना भएको मुलुकमा रेमिटेन्स नभित्रिएपछि देशको मुख्य आम्दानीको स्रोत के होला ?

यस्तो छ आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा नेपालमा भित्रिएको रेमिटेन्सको तथ्याङ्क

आर्थिक मन्दी कति लम्बिन्छ यसै भन्न सकिन्न

अमेरिकी माडियाको विश्वव्यापी सर्वेक्षण अनुसार विश्वव्यापी आर्थिक मन्दी कति समय सम्म लम्बिन्छ भन्ने अनुमान गर्न निकै गाह्रो छ । किनभने कोरोना भाइरसको महामारी कति समयसम्म लम्बिन्छ भन्ने स्वयम् विज्ञलाई समेत थाह छैन । तर यति चाहिँ निश्चित छ कि यो मन्दी २००८ को विश्वव्यापी आर्थिक मन्दी भन्दा निकै नै लामो र विनाशकारी हुनेछ । यसको असर कम्तीमा २ -३ वर्ष रहने प्राय निश्चित देखिन्छ ।

कोरोना प्रभाव अमेरिकामा एक हप्तामा ३३ लाख बेरोजगार

कोरोनाको प्रत्यक्ष प्रभाव भोगिरहेको अमेरिकामा गत मार्च २१ देखि २६ सम्म बेरोजगारको सूचिमा ३३ लाख व्यक्तिले आवेदन दिएका छन् । यो सङ्ख्या कोरोना मुक्त हुनु अगावै बढेर १ करोड ४० लाख सम्म पुग्ने अनुमान अमिरकाको श्रम विभागको रहेको छ । यसको प्रत्यक्ष असर अमेरिकाबाट नेपालमा भित्रने रेमिटेन्समा पर्ने देखिन्छ ।

A trader works on the floor of the New York Stock Exchange (NYSE) in New York, U.S., March 12, 2020. REUTERS/Brendan McDermid

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको अवस्था

चालु आर्थिक वर्षको पहिलो सात महिनाको अवधिमा चालु खाता घाटा रु ११२ अर्व १५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु १६६ अर्व ६७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७ महिनामा १ अर्व ४६ करोड रहेको चालु खाता घाटा, चालु आर्थिक वर्षाको पहिलो सात महिनाको अवधिमा ९८ करोड ४८ लाख रहेको छ ।त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनाको अवधिमा पुँजीगत ट्रान्सफर रु ८ अर्व ३१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्व ३८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु ७ अर्व ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ५ अर्व १५ करोड रहेको थियो ।

नेपाली अर्थतन्त्रमा कस्तो असर ?

वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपालीहरूमा यसको प्रत्यक्ष असर परेको छ । जसले गर्दा पनि नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने कुरामा दुबिधा छैन । कोरोना भाइरस विश्वव्यापी महामारीको असर अब कम्तीमा पनि ६ महिना रह्यो भने नेपालमा भित्रिने रेमिटेन्स करिब ४० % ले घट्ने नेपाली अर्थशास्त्रीहरु बताउछन् । यो रकम भनेको करिब ४ खर्व ८० अर्व हो । र नेपालको आ. व. २०७६/७७ बजेटको एक तिहाइ हुन आउँछ । यसरी सोझो रूप मै हिसाब गर्दा यसको असर व्यापक देखिन्छ ।

रेमिटेन्स बाट उपभोग्य बस्तु खरिद गर्दै आएका नेपाली जनताको किन्ने क्षमतामा व्यापक गिरावट आउने देखिन्छ । यसबाट हुने मूल्य बृद्दी देशले धान्ने नसक्ने पनि हुन सक्छ । आफ्नो उत्पादन क्षमता निकै कम भएको विश्वकै गरिब मध्यको देश नेपाल विश्वव्यापी आर्थिक मन्दीको चपेटामा नराम्ररी पर्ने देखिन्छ । नेपालले करिब ९० % उपभोग्य वस्तु आयात गर्छ । आयातको मूल्यमा हुने उतार चढाबले नेपालको व्यापार घाटा कति हुनेछ भन्ने निर्धारण गर्छ । यसै पनि गत डिसेम्बर २०१९ सम्म नेपालको व्यापार घाटा करिब १० खर्व भन्दा बढी रहेको छ । मन्दी पछि व्यापार घाटाको बृद्दी गर झन् बढ्ने प्राय निश्चित नै छ । साथै नेपालमै पनि कैयौँको रोजगारी गुमेको छ । उद्योग व्यवसायहरू ठप्प छन् । ८ % को आर्थिक वृद्धिको सरकारी लक्ष पुरा नहुने प्रस्टै छ ।

अब के गर्ने ?

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले विश्व नै तहसनहस गरिरहेता पनि नेपालमा भने यो भाइरसको सङ्क्रमण पहिलो चरणमा नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । बाह्य मुलुकमा जस्तो अवस्था नआओस् पशुपतिनाथ सँग कामना गरौँ । नेपालमा महामारीको रूपमा नफैलिएता पनि यसको आर्थिक तथा सामाजिक असर भने व्यापक हुने देखिन्छ । नेपाल विगत ४ दिनदेखि लक डाउनमा छ र यो अवस्था कम्तीमा १ हप्ता र बढीमा अनिश्चित कालसम्म हुने देखिन्छ । सामाजिक सुरक्षा तथा आर्थिक बचावटको लागि अब हामीले गर्नुपर्ने कुराहरू बुँदागतरुपमा :

१. सर्वप्रथम त नेपालमा यो भाइरस फैलन बाट रोक्न हर सम्भव प्रयास गर्नु नै सञ्जीवनी हुने देखिन्छ । यसका लागि लकडाउनलाई अझ प्रभावकारी बनाउने, हात धुने, सफा रहने, मास्कको प्रयोग गर्ने, कोरोनाको लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने जस्ता बानीको विकासमा जोड नै आजको प्रमुख आवश्यकता हो । नेपालमा हाल सरकारले लक डाउन गरेता पनि महामारी रोक्न चाहिने वस्तुहरू जस्तै स्यानिटाईजर, मास्क, चेक जाँच किट, पिपिइ ( पर्सनल प्रोटेक्टिभ इक्युप्मेंट ) को अभाव रहेको र चिकित्सक तथा स्वास्थ्य कर्मी आफै असुरक्षित रहेकाले यो वस्तुहरूको तुरुन्त व्यवस्था गर्नुपर्ने देखिन्छ ।

२. कोरोनासँग लड्न र भविष्यमा आर्थिकरुपले सबल बन्न अहिले नै बृहत् गुरुयोजना बनाई नेपालको अर्थतन्त्रलाई क्र्यास हुनबाट जोगाउनु पर्ने देखिन्छ । उक्त गुरुयोजना मार्फत एक कोरोना विशेष कोष सञ्चालन गरी सरकारी तथा निजी क्षेत्रबाट उक्त कोषमा योगदान र सो योगदानलाई आयकर अन्तर्गत अनुदान सरह मानी आयकर छुट दिएर उक्त कोषको प्रवर्धन गर्नुपर्ने देखिन्छ ।

३. विश्वव्यापी आर्थिक मन्दी पछि यो आर्थिक वर्षमा मात्र करिब ४ खर्व रेमिटेन्स गुम्ने अवस्थामा, वैदेशिक रोजगारीमा गएका धेरै नेपाली दाजुभाइ दिदीबहिनी नेपाल नफर्केलान भन्न सकिन्न । त्यसैले उनीहरूलाई नेपालमै उपयुक्त रोजगारीको व्यवस्था गर्नु सरकारको कर्तव्य हो । त्यसका लागि बन्द भएका कयौँ उद्योग खोलिनु पर्छ र कम्तीमा नेपाललाई पुग्ने उपभोग्य बस्तु नेपालमै बन्नुपर्छ । वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ दिदीबहिनीले सिकेको दक्षता नेपालको आर्थिक पुनारुथ्थानको निम्ति निकै नै महत्त्वपूर्ण हुनेछ ।

४. नेपालको आर्थिक क्षेत्रमा अहिले सबैभन्दा बढी असर होटेल तथा पर्यटन उद्योगमा परेको छ । यो त्यही क्षेत्र हो जसलाई नेपालको समग्र आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा लिइँदै आएको छ । चैत्र महिना सम्म बैङ्क कर्जाको किस्ता बुझाउन नपर्ने भनेर सरकारले निर्णय त गरेको छ तर त्यसपछि उक्त क्षेत्रको कसरी प्रवर्धन गर्ने भन्ने कुनै ठोस खाका अहिलेसम्म बाहिर आउन सकेको छैन । होटेल तथा पर्यटन व्यवसायको प्रवर्धन गर्न सरकारले मूर्तरूपमा गृहकार्य गर्नुपर्ने देखिन्छ साथै सो कदमलाई होटेल तथा पर्यटन व्यवसायका सङ्घ संथाहरुले खुलेर सहयोग गर्नुपर्ने हुन्छ ।

५. लक डाउनको कारणले नेपालमै पनि कैयौँको रोजगारी गुमेको छ । दिनभर ज्याला मजदुरी गरेर छाक टार्ने श्रमिकको भविष्य अनिश्चित जस्तै भएको छ । तर पनि यो अवस्थालाई नेपालले सकारात्मकरुपमा प्रयोग गर्नुको विकल्प छैन । नेपालले अब विगतभन्दा फरक तरिकाले आर्थिक लडाई गर्नुपर्ने छ । कोरोना पछिको समयमा नेपालले पहिले गर्न नसकेका उत्पादनामुलक उद्योगको सञ्चालन, रोजगारीको प्रवर्धन, पर्यटन क्षेत्रको विकास, भौतिक पूर्वाधारहरूको व्यापक विकास, स्वास्थ्य क्षेत्रको सुदृढीकरण , शैक्षिक पुनार्जागरिकरण गरी सम्पूर्ण आर्थिक तथा सामाजिक कल्याण तर्फ देशलाई अघि बढाउनुको विकल्प देखिँदैन ।