विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीस्थित क्वारेन्टाइनमा

काठमाडौं । चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारलेनिमार्ण गरेको नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुर क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । अहिले विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको नेपाली सेनाले जनाएको छ ।
भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन पु¥याएको हो । त्यहाँ नियमित ज्वरो जाँच भइरहेको छ । दुईजना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँचजनाको टोली सेवामा खटिएका छन् । कोरोना सङ्क्रमणको आशङ्का देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा रहेको छ ।
सबैलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यस बीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लगिने जनाइएको छ ।
आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले गर्ने छन् । प्राधिकरणको क्यान्टािनबाट खाना प्याकिङ गरी उनीहरुलाई पठाउने गरिएको छ भने क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्