काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड बिरामीले भरिएका छन् । अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ ।

टेकु अस्पतालमा रहेका पाँचवटा आइसोलेसन वार्ड र अरु सातवटा बेडमा बिरामी भरिएपछि नयाँ बिरामी भर्ना गरेर उपचार गराउन समस्या भएको टेकु अस्पतालका एक चिकित्सकले जानकारी दिए । उनले भने ‘नयाँ बिरामी राख्ने ठाउँ नभएर दुईजना बिरामीले उपचार पाएका छैनन् । एकजनाको अवस्था गम्भीर छ । तत्काल आइसोलेसनमा राख्नुपर्ने हुन्छ ।’

सशस्त्रको अस्पतालले लिन मानेन

सरकारले टेकु, पाटन र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कोरोना भाइरसका संकास्पद बिरामीको तत्काललाई परीक्षण र उपचार गर्ने निर्णय गरेको थियो । तर टेकु र पाटनमा ठाउँ नभएर भर्ना गर्न नसकिएका बिरामीको उपचार गर्न सशस्त्रको अस्पतालले अस्वीकार गरेको छ ।

‘पाटन र टेकु दुवैमा बिरामीको चाप छ, बेड खाली छैन । सप्तरीबाट आएका एक बिरामीमा कोरोनाका मिल्दाजुल्दा लक्षण देखिएका छन् । उनलाई तत्काल उपचारको खाँचो छ’, ती चिकित्सकले भने, ‘तर हामीले पठाएका ती बिरामीलाई सशस्त्रको अस्पतालले तयारी नै गरेको छैन भनेर भर्ना नै लिन अस्वीकार गरेपछि समस्या भएको छ ।’

टेकु आइपुगेका दुईजना शंकास्पद बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ । एकजनालाई आइसोलेसनमा अक्सिजन दिएर राख्नैपर्ने रहेको चिकित्सकले बताएका छन् ।

‘एकजनामा कोरोनाका सबै लक्षण मिल्ने देखिएको छ। आइसोलेसनमै राख्नैपर्ने अवस्था छ’, उनले भने, ‘सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताले राख्न अस्वीकार गरेपछि समस्या भएको छ । अब हामीले नै यहाँ बेड खाली गरेर राख्नुपर्ने अवस्थामा छाँै।’ सशस्त्रले लिन नमानेपछि टेकुको आइसोलेसन वार्डका सामान्य बिरामीलाई पाटन अस्पताल पठाउने तयारी गरिएको छ ।

पाटनका बिरामीलाई टेकुको जनरल बेडमा ल्याएर टेकुको आइसोलेसन वार्डको बेड खाली गर्ने योजना चिकित्सकले बताएका छन्।