काठमाडौं । डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । रुपैयाँ अवमूल्यन भएपछि एक अमेरिकी डलरको भाउ १ सय २२ रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र ब्यांकले ११ चैतका लागि तोकेको विनिमयदर अनुसार, १ अमेरिकी डलरको खरिद मूल्य १ सय २१ रुपैयाँ ७४ पैसा र विक्री मूल्य १२२ रुपैयाँ ३४ पैसा छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै मन्दीतर्फ जाने जोखिम बढेपछि लगानीकर्ताहरुले पछिल्लो समय डलरको माग बढाएका छन् । लगानीकर्ताहरुको आत्मविश्वास धर्मराउँदा संसारभरिका ठूला स्टक एक्सचेन्जहरुमा भारी गिरावट आएको छ ।

जसका कारण, डलर महंगो भएको छ भने अन्य मुद्राहरु अवमूल्यन भएका छन् । डलरसँग भारतीय रुपैया (भारु) को विनिमय दर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।

भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमयदर भएकाले भारुको अवमूल्यन हुँदा नेपाली रुपैया पनि कमजोर बन्छ । एक अमेरिकी डलरसँग भारुको विनिमयदर पहिलो पटक भारु. ७५ नाघेको छ ।

रुपैयाँ कमजोर भएपछि पछिल्लो एक महिनामा मात्रै १ डलरको सामान खरिद गर्न झण्डै रु. ८ बढी तिर्नुपर्ने भएको छ । डलरको तुलनामा रुपैयाँ कमजोर हुँदा तेस्रो मुलुकबाट डलरमा आयात गर्ने वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । राष्ट्र ब्यांकका अनुसार, चालु आर्थिक वर्षको माघसम्ममा मूल्यवृद्धि दर ६.८ प्रतिशत पुगेको छ ।

डलरको मूल्यवृद्धिसँगै तेस्रो मुलुकबाट आयात हुने वस्तु र सेवाको मूल्य बढ्दा यो वर्ष मूल्यवृद्धि दरमा थप चाप पर्छ । यद्यपि, डलरको मूल्य बढ्दा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स रकम भने बढ्छ ।