सशस्त्र प्रहरीले देशभरका ब्यारेकलाई आइसोलेसन वार्ड बनाउँदै

काठमाडौ ९,चैत । सशस्त्र प्रहरी बलले देशभर रहेका आफ्ना ब्यारेकमा १ हजार आइसोलेसन वार्ड निर्माण गर्ने भएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले सातवटै प्रदेशमा रहेका सशस्त्र प्रहरी बलको ब्यारेकमा आइसोलेसन वार्ड निर्माण गर्ने भएको हो ।
त्यसका लागि सशस्त्र प्रहरी बलले प्रहरी नायव महानिरीक्षक (डीआईजी) नाराणमान थापाको नेतृत्वमा महामारी रोकथाम समिति बनाएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार सशस्त्र प्रहरीले प्रदेश–१ मा २ सय वार्डको आइसोलेसन वार्ड, प्रदेश–२ मा २ सय, प्रदेश–३ मा १ सय, गण्डकी प्रदेशमा २ सय, प्रदेश–५ मा १ सय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १–१ सयको आईसोलेसन वार्ड बन्नेछ ।
त्यसका लागि हाल सशस्त्र प्रहरी बलको युनिट रहेकालाई अन्यत्र सार्ने तयारी भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । हाल सरकारले सशस्त्र प्रहरी बलको बलम्बुस्थित एपीएफ अस्पतालमा कोरोनाका बिरामी मात्र राख्ने निर्णय सरकारले गरेको छ ।
बलम्बु अस्पतालमा १ सय शैय्याको आइसोलेसन वार्ड निर्माण भएको छ । आइसोलेशन वार्डका एक जना बेलायती नागरिक राखिएको प्रवक्ता श्रेष्ठले बताए ।
उनी दुई साताअघि नेपाल आएको र रूघाखोकी लागेपछि पाटन अस्पताल पुगेका थिए । त्यहीँबाट रिफर गरेर एपीएफ अस्पताल पठाएको श्रेष्ठको भनाइ छ । उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ ।
हाल सशस्त्र प्रहरी बलले विभिन्न सीमानाकामा हेल्प डेस्क राखेर नेपाल भित्रिने यात्रुको स्वास्थ्य चेकजाँच गर्नुका साथै कोरोनाबारे सचेत गराउँदै आएको छ ।
सशस्त्र प्रहरी बलसँग भएको डाक्टर स्टाफ नर्स सबै फिल्डमा खटिएको प्रवक्ता श्रेष्ठले बताए । हाल सशस्त्र प्रहरीसँग २ सय ७२ जना स्वास्थ्यकर्मीको जनशक्ति छ ।
प्रतिक्रिया दिनुहोस्