प्रतिबन्ध उल्लंघन गर्दै विदेशी एयरलाइन्सले ५५ नेपाली बोकेर आए

खरिपाटी क्वारेन्टाइनमा लैजाने तयारी
काठमाडौँ । कोरोना भाइरसको प्रकोप भित्रिन नदिन सरकारले लगाएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै एयर इन्डिया र थाइ एयरवेजले ५५ नेपालीलाई विभिन्न मुलुकबाट नेपाल ल्याएका छन् ।
सरकारी निर्णय उल्लंघन गर्दै ती एयरलाइन्सले जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराएका हुन्।
विमानस्थल ओर्लिएका सबै नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। आफूखुसी नेपाल आएका उनीहरु १४ दिन क्वारेन्टाइनमा बस्ने र त्यस अवधिसम्म उनीहरुले नै खर्च व्यहोर्नुपर्ने बताए। एयर एन्डियाबाट आएका १२ र थाइ एयरवेजबाट आएका ३८ जना सम्पर्कमा आएको पौडेलले बताए।
सरकारी निर्णय अवज्ञा गर्ने एयरलाइन्सलाई सचेत गराउने र अटेर गरे नियम अनुसार कारबाही उनले गरिने बताए। नेपालको स्वीकृति बेगर विदेशबाट मानिस ओसारेको विषयमा नागरिक उड्ययन प्राधिकरणका पदाधिकारीलाई मौखिक स्पष्टीकरण मागिएको पौडेलले बताए।
‘सरकारी निर्णयविपरीत किन विदेशबाट मान्छे ल्याएको भनेर नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग जवाफ मागेका छौं,’ पौडेलले कान्तिपुरसँग भने, ‘अरु मानिस पनि आउने क्रममा रहेको भए आकाशबाटै उतै फिर्ता पठाउने व्यवस्था गर्न पनि निर्देशन दिएका छौं।’
अटेर गरेर अवतरण गरिए विमानस्थलबाटै जुन देशबाट आएको हो, सोही मुलुकतर्फ विमान फिर्ता गरिने पौडेलले बताए। आजको कान्तिपुर दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस्