कोभिड-१९ नामक कोरोना भाइरसको कारण युरोपेली मुलुक इटालीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

बिहीबारसम्म कोरोनाको कारण सबैभन्दा बढी मृत्यु हुनेको संख्या छिमेकी देश चीनमा रहेकोमा पछिल्लो २ दिनमा इटालीमा मात्रै करिब १ हजार जनाको मृत्यु भएकोपछि सबैभन्दा बढी मर्नेको संख्या इटालीमा पुगेको हो ।

इटालीमा कोरोना लागेका मध्ये करिब ९ प्रतिशतको मृत्यु भएको छ । इटालीमा ४१ हजार ३५ जना संक्रमित हुदा मर्नेको संख्या ३ हजार ४ सय ५ जना पुगेको छ । चीनमा भने ८० हजार ९ सय ६७ जना संक्रमित हुँदा ३ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।

इटाली र चीनपछि बढी मृत्यु हनेमा इरान रहेको छ । इरानमा हालसम्म १८ हजार ४ सय ७ जना संक्रमित हुँदा १ हजार २ सय ८ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहानसम्म कोरोनाबाट संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय २९ पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार ४८ पुगेको छ । कोरोना संक्रमित भएको ठीक हुनेको संख्या ८८ हजार ४ सय ३७ रहेको छ ।