जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको ज्यान गएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको ज्यान गएको वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताए ।

उनका अनुसार गत मङ्गलबारदेखि अचानक उनीहरु बिरामी हुँदै र उपचार हुँदाहुँदै पनि सिकिस्त अवस्थामा पुगेर एकपछि अर्को गरी पाँचै जनाको ज्यान गएको हो । एक्कासि बिरामी भएर भटाभट भएको उनीहरुको मृत्युले पूरै मनरा गाउँवासी आतङ्कित भएका छन् । उनीहरुको मृत्युको कारणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

ज्यान गुमाउने पाँचमा चार जना दलित र एक जना उच्च जातिका रहेका छन् तर उनीहरुको मृत्यु भने विषाक्त मदिरा सेवनबाट भएको वडाध्यक्ष चौधरीको जिकिर छ । उनका अनुसार उपचारमा संलग्न चिकित्सकले उनीहरुको मृत्यु मदिरा सेवनबाट भएको बताएका छन् । महोत्तरीका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले उनीहरुको मृत्यु मदिरा सेवनबाट नभई अर्कै कारणले भएको हुनसक्ने आशङ्का गर्नुभएको छ ।

वास्तविकता जे रहे पनि एउटै गाउँमा तीन दिनभित्र पाँच जनाको ज्यान गएपछि गाउँले त्रसित छन् भने डरले गर्दा सबै आआफ्नै घरमा सीमित हुन थालेको स्थानीयवासी रवीन्द्र भगतले बताए ।